के नेपालमा लोकतन्त्र लुटतन्त्रमा त परिवर्तन हुदै छैन ? भनिन्छ, राज्य एक नैतिक भावको मूर्त रूप हो, यसमा वस्तु, रूप, आत्मा र दृढ स्वतन्त्रताका समिश्रण हुन्छ । राष्ट्र भनेको वास्तवमा माटोको नाम नभई साझा भाषा, साझा संस्कृति, साझा अर्थतन्त्र र साझा मनोभावनाबाट वाँधिएको निश्चित भूभागमा वस्ने मानिसहरूको साझा मन हो । राष्ट्रको रक्षा तथा नेतृत्व गर्न नेताको आवश्यक पर्दछ ।
राजनीति राज्यको नीति तथा अवधारणा भएकोले यसको सम्वन्ध सभ्यता, संस्कार र संस्कृतिसंग जोडिएको हुन्छ । राजनीति पेशा होइन, राजनीति विशुद्ध सामाजिक सेवा हो, यसलाई कदापी पनि कमाई खाने भाँडो बनाउनु हुन्न । राजनीति भनेको नैतिकताको व्यापक रूप तथा सम्भावनाको कला हो, यसको उपयोग मानव कल्याणमा हुनुपर्दछ ।
नेपालमा नेता हुन चाहिने मापदण्ड गलत पद्धतिद्वारा चलिआएको छ । सर्वप्रथम व्यक्ति सक्षम भएपछि समाजको सेवा गर्नको लागि राजनीतितर्फ लाग्नुपर्दछ । सानो उमेरैदेखि देशको लागि केही गर्ने भावना हुनु सकारात्मक हो । तर विद्यालय जीवनदेखि नै कुनै पार्टीको खोल ओढेर राजनीतिलाई पेशा बनाउनु धेरै नेपालीहरूको आदत भईसकेको छ । यस्तो संस्कारले देशको मुहार फेरेर समृद्ध नेपाल र सम्पन्न नेपाली बनाउने राजनेताको कहिल्यै पनि जन्म हुदैन । तसर्थ राजनीतिलाई समाज सेवाको रूपमा विकसित गर्न सर्वप्रथम व्यक्ति सक्षम तथा आत्मनिर्भर हुनुपर्दछ ।
नेपालमा राजनीतिक दलहरु लोभको भुमरीमा फस्दैछन् । नफसुन् पनि कसरी यहाँ सांसद पाल्नु छ । क्रमचारी पाल्नु छ । अनुत्पादक क्षेत्रमा राजनीति दलहरु रोमलिएका छन् भन्दा फरक पर्दैन । न उत्पादन गर्न चाहन्छन् नत ऋण नलेउ भन्दा मान्छन् । १७ हजारको बलिदान दिएर आएको लोकतन्त्र यो त अहिले लुटतन्त्र हुदैछ । सहयोग र अनुदान अरवौ आउछ बाड्दा-बाड्दै समाप्त हुन्छ । जनताको टाउकोमा ऋण थपि रहेको छ । यस्तो पाराले देश कदापि चल्न सक्दैन । देशमा विकास गर्न त उत्पादन क्षेत्र बढाउनु पर्दछ । उद्योग कलकारखाना जडिबुटी प्रसोधन उत्पादन कृषि जलस्रोतमा लगानी लगाएर विदेशीएका शिक्षित युवालाई परिचालन गर्न सक्नुपर्छ ।
देशमा जडिबुटी त्यतिकै खेर गइरहेको छ । अनुसन्धान नेपालीले नगरेर विदेशीलाई दिने गरेको पाइन्छ । यहाँ खानी छ, बिजुली उत्पादन गर्न पानी छ तर सवै समाप्त पारिदैछ । लोकतन्त्रलाई परिवर्तन गर्दै राजनीति तन्त्रमा राख्दा उपयुक्त हुने देखिदैछ । भ्रष्टाचार दिन प्रतिदिन बढ्दैछ । विकासतर्फ कसैको ध्यान पुग्न नसक्नु दु:खद छ । कुनै पार्टीका सांसद स्वस्थानीको पाना च्यात्नुपर्छ भन्छन् भने कोही उद्योग लगाउदा सरकालाई घाटा लाग्न सक्छ भन्दैछन् । कोही सहयोग लिन हात थाप्दैछन् । यो देशले अहिलेसम्म कस्ता नेताको जन्म दिएछ, बिडम्बना भन्नु पर्दछ । सच्चा देशभक्त राजनेताको जन्म नै हुन् सकेन हाम्रो देश नेपालमा ।
धर्म नमान्नेहरूको मन कति संग्लो होला भन्ने कुराको अनुमान हामीले सहजै लगाउन सकिने देखिन्छ । धर्मनिरपेक्षता लादनु भनेकै यो देशको दुर्भाग्य हो भन्दा फरक छैन । देशको गति बढाउन धर्म संस्कृतिले ठूलो मद्दत गरेको हुन्छ । यो देशमा धर्मलाई अफिम भन्छन्, आफै विदेशी धर्मलाई अगाल्छन् होइन यिनीहरूलाई ज्ञान कसले देला सोच्नुपर्ने भएको छ । के नेपालमा लोकतन्त्र लुटतन्त्रमा त परिवर्तन हुदै छैन ? भन्ने आम प्रश्नचिन्ह खडा भएको छ ।
लोभको भुमरीमा राजनीतिक दलहरु फस्दैछन्, जसले गर्दा १७ हजारको बलिदान दिएर आएको लोकतन्त्र अहिले लुटतन्त्रमा त परिवर्तन भई रहेको छैन भन्ने अहम् प्रश्नचिन्ह खडा भएको छ।नेपाली जनता नागरिक हुन् सकेको छैन । पार्टीको कार्यकर्ता बाहेक अन्य तटस्थ सर्वसाधारण नेपाली जनता बाँच्न नसक्ने स्थिति सिर्जना हुदैछ । पहिला पहिला भनिन्थ्यो नि जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि तर अहिले नेपालमा जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् पार्टीका कार्यकताहरु मात्र ।
पाप र पुण्य यसै धर्म संस्कृतिमा अडेको हुन्छ । जब मान्छेको मनमा पापको डर रहदैन उ पशु समान हुन्छ । आज हरेक व्यक्तिमा धर्म संस्कृतिको डर छैन जसले जे मन लाग्यो त्यही गरेको छ । समाजबाट बिकृती हटाउन नियम र कानुनको ठूलो हात रहेको हुन्छ । देशमा धर्म संस्कृतिलाई बलियो बनाउदै लग्न सकेमा मात्र यो देशको स्तरमा सुधार हुनेछ ।नेपालका ठूला तथा साना पार्टीहरूका वरिष्ठ नेताहरूको आन्तरिक शीतयुद्धले नेपाली जनतामा गलत राजनीतिक संस्कारको सन्देश दिइ रहनु राम्रो संकेत होइन । पार्टी भनेको कुनै जात, समुदाय र परिवारको नितान्त पेवा होइन । नेपालमा प्रजातन्त्रको नाममा छाडातन्त्रको विकास भने हुन दिनु हुदैन । नत्रभने ती शदिहरुको रगतको अपमान हुनेछ । संसारमा कुनै कुराको स्थायित्व छैन । कुल खन्दान्, धन-सम्पति,राजनीति भनेको तीन पुस्ता सम्म मात्र टिक्डो रहेछ यदि धर्म, कर्म,नैतिकता, छ भने मात्र । नत्र भने एक पुस्तामा नै अन्तय हुन्छ ।
भावी पुस्तालाई राजनीतिमा आकर्षित गराएर दुरदर्शी राजनेता उत्पादन गर्नको लागि राजनीतिलाई फोहरी खेलको रूपमा नभएर पवित्र समाज सेवाको रूपमा दृष्टिकोण परिर्वतन गरी मर्यादित तथा सम्मानित वनाउनुपर्दछ । एउटा वालकले पनि पछि गएर असल नेता भएर देशको सेवा गर्छु भन्ने वातावरण सिर्जना गराउनु पर्दछ । नेपालमा वौद्धिक युवालाई राजनीतिमा आकर्षित गर्न सक्ने वातावरण सिर्जना गर्नु पर्दछ । परिवर्तित विश्व परिवेश अुनसार प्रतिभाशाली युवा नेताहरूलाई पार्टीमा अगाडि बढन दिने वातावरण सिर्जना हुनुपर्दछ । आजको युग भनेको सिर्जनशीलता, क्षमता, योग्यताको आधारमा मानिसको मुल्याङकन हुने युग हो । क्षमता, योग्यता, त्याग र मर्यादाक्रम अनुसार नेताहरूलाई पार्टीमा स्थान दिने संस्कारको विकास हुनुपर्दछ ।
भनिन्छ, “इमान्दार मानिस ईश्वरको सर्वोत्तम सिर्जना हो” । धर्म त्यो हो जसले हामीलाई सबै प्रकारका विनाश र अधोगतिबाट बचाएर उन्नति–प्रगतितर्फ अग्रसर गराउँछ । धर्मले व्यक्तिलाई आपत-विपतमा धैर्य धारण गरि कार्य गर्ने, साहसपुर्वक संकटको मुकावला गर्ने, असल काम गर्ने प्रेरणा प्रदान गरी सहयोग गर्दछ । पवित्रता, स्वच्छता र शुद्घता नै धर्म हो । यसले पाप र पुण्यको विश्लेषण गरेर राम्रो कार्य गर्न मात्र सचेत गर्दछ । यसले कुबाटोमा लाग्न निषेध गर्दछ ।
अतः धर्मले सचेतना प्रदान गर्ने ठूलो कार्य गरिरहेको हुन्छ । जे मनुष्यले गर्छ त्यसको फल अवश्य पाउछ । दान शुभ कर्म हो र हिंसा अशुभ कर्म हो । गीतामा पनि भनिएको कि कर्मका शुभ अशुभ फललाई अवश्य भोग्नु पर्दछ, त्यसबाट छुटकारा मिल्दैन । तसर्थ जस्तासुकै दु:ख र कठिन परिस्थिमा पनि धर्म नफलौ । पशुपतिनाथले संरक्षकको रुपमा हाम्रो देश देश नेपाललाई अंग्रेजको गुलाम हुनवाट त जोगायो । आशा गरौ एउटा सच्चा देशभक्त राजनेताको जन्म पनि हुनेछ जसले यो देशलाई जोगाएर देशको विकास गरी पुरै काचुली फेर्नेछ ।
यो पनि पढनुहोस्
सच्चा देशभक्त राजनेताको पर्खाइमा नेपाल आमा
नेपालको विकास किन हुन सकेन ? यसको ठोस कारण के हुन सक्छ
नेपाल चाहेमा स्विट्जरल्याण्ड बन्न सक्छ, तर गफ होइन काम गरौ
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।