१५ बैशाख २०८१, शनिबार

सर्वदलीय बैठकद्वारा सीमा विवादबारे मोदीसँग सीधा कुरा गर्न प्रधानमन्त्रीलाई सुझाव


सर्वदलीय बैठक

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको बताएका छन् । भारतसँगको सीमा विवाद राजनीतिक तहबाटै समाधान गर्न नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । भारतको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत भूभाग समेटिएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएको सबैदलीय बैठकमा सहभागी भएका नेताले यस्तो सुझाव दिएका हुन् ।

पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले परराष्ट्र सचिवको बैठकको अर्थ नभएको भन्दै प्रधानमन्त्रीलाई सिधै भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्न सुझाव दिए । त्यसैगरी सीमा विवादको विषयमा भारतीय राजदूतको धारणा बुझ्नुपर्ने सुझाव राप्रपा (संयुक्त) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भूमि रक्षाका लागि प्रतिवद्ध हुनुपर्नेमा जोड दिए। उनले परराष्ट्र सचिवको बैठक बोलाउनुपर्ने बताए।

भर्खरै जारी गरेको नक्सामा भारतले कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभाग भनेको छ । त्यसको नेपालमा चर्को विरोध भइरहेको छ । सरकारले पनि लिपुलेक नेपाली भूभाग भएकाले एकपक्षीय रुपमा जारी भएको भारतीय नक्सा स्वीकार्य नहुने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सहभागी नेताहरुले कालपानी नेपालको हो भन्नेमा सबैको साझा मत रहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !