१४ बैशाख २०८१, शुक्रबार

मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन सकारात्मक सोच आवश्यक


bhanubhakta dhakal

८ फागुन, बुटवल । कानून तथा सङ्घीय मामिलामन्त्री भानुभक्त ढकालले मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन सबैले सकारात्मक सोच बनाउनुपर्नेमा समेत जोड दिनुभएको छ । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले सङ्घीयता सबैका लागि नयाँ विषय भएकाले यसको कार्यान्वयनमा केही अन्यौलजस्तो देखिए पनि सबै विषय समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारसँग पूर्ण बहुमत हुँदाहुँदै पनि संसद्मा विपक्षी दलसँगको सहमतिमा सर्वसम्मतले कानून निर्माण हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म चिकित्साशास्त्र विधेयकबाहेक अन्य सबैमा संसद्बाट सर्वसम्मतरुपले पास भएका छन् ।”

प्रमुख जिल्ला अधिकारीको क्षेत्राधिकारका विषयमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री ढकालले प्रमुख जिल्ला अधिकारी सङ्घीय सरकारकै प्रतिनिधिको रुपमा रहने भएकाले केन्द्रप्रति जवाफदेही हुने भए पनि प्रदेश सरकारसँगको समन्वयमै चल्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रजिअ नागरिकता, राहदानी, सीमा सुरक्षा र वैदेशिक मुद्रासँग सम्बन्धित विषयमा बाहेक अन्य विषयमा प्रदेश सरकारकै समन्वयमा चल्ने सहमति भएको छ ।”

मन्त्री ढकालले सङ्घले कानून निर्माण समयमा नगर्दा प्रदेश र स्थानीय तहलाई काम गर्न केही अप्ठ्यारो भएकामा सरकार गम्भीर रहेको र यसको जिम्मेवारी लिने बताउँदै सरकारले हाल प्रदेश लोक सेवा आयोग, प्रहरीसम्बन्धी, भूउपयोग, उद्योगसम्बन्धी कानूनलगायतका धेरै विधेयक संसद्मा पेश गरिएको जानकारी गराउनुभयो । उहाँले संविधानअनुसार संशोधन गर्नुपर्ने १६५ कानूनमध्ये संसद्बाट २६ कानून पारित भइसकेका र ४७ कानून संसद्मा विभिन्न प्रक्रियामा पुगेको समेत जानकारी गराउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !