२४ बैशाख २०८१, सोमबार

माओवादीका पाँच मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार


maoist-mantri

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। आफ्नै पार्टीका तर्फबाट पाँच मन्त्री र चार राज्यमन्त्री थप गर्दै प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

माओवादीबाट जनार्दन शर्मा ‘प्रभाकर’ ऊर्जा, धनिराम पौडेल बिना विभागीय, हितराज पाण्डे स्थानीय विकास, राम कार्की सञ्चार र अजशंकर नायक कानुन मन्त्री बनेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आइतबार दिउँसो आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ दिलाइन्।

त्यसैगरी माओवादीकै तर्फबाट चार जना राज्यमन्त्री पनि छानिएको छ। राससका अनुसार सत्यनारायण भगत ऊर्जा राज्यमन्त्री , राधिका तामाङ कृषि विकास राज्यमन्त्री, धनमाया विक बिना विभागीय र श्रीप्रसाद जगेबु संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री बनेका छन्। उनीहरुलाइ प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ खुवाए।

यसअघि माओवादीबाट कृष्णबहादुर महरा उपप्रधानसहित अर्थ, गौरीशंकर चौधरी कृषि र दलजित श्रीपाइली युवा तथा खेलकुद मन्त्री छन्।
कांग्रेसबाट भने अझै मन्त्री थपिन बाँकी रहेको छ। कांग्रेसबाट विमलेन्द्र निधि उपप्रधानसहित गृह र रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री भइसकेका छन्।

प्रचण्डले यसअघि पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी राप्रपाका दीपक बोहोरा, विक्रम पाण्डे र नेकपा संयुक्तका जयदेव जोशीलाई सामेल गरिसकेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !