१४ बैशाख २०८१, शुक्रबार

यो लिखित म्यादी सरकार हो : पूर्व प्रधानमन्त्री ओली


kp-oli

काठमाडौँ : राजीनामा दिएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक पत्रकार सम्मेलन गरी राजनीतिक टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ओलीले सरकारमाथि कटाक्ष मात्र गरेनन्, संविधान संशोधनको बाटो अहसज रहेको देखाइदिए। उनले संविधान संशोधनीय दस्तावेज भएपनि आवश्यकता हेरेर मात्र संशोधन गर्ने बताए। के भने त पूर्व प्रधानमन्त्री ओलीले?

१) संविधानमा के अपर्याप्त?
संविधानमा अपर्याप्तताका कुरा उठ्ने गरेका छन्। केमा अपर्याप्तता? संविधानको प्रश्नमा जनतालाई हक अधिकार उपलब्ध गराउने, अवसर उपलब्ध गराउने जस्ता प्रश्नहरुमा कि राज्य सञ्चालनलाई जटिलतामा फँसाउने र राज्य सञ्चालन सहज नभएर जटिल नभएर राज्यको पुनर्संरचना वा शासकीय वा प्रशासकीय ढाँचाको प्रश्न हामीले प्रस्तुत गर्ने ढाँचालाई अर्थतन्त्रले नभ्याउने कुरा हामीले प्रस्तुत गर्ने ढाँचाले राष्ट्रिय एकता कमजोर पार्ने विभिन्न प्रश्नमा हामीले ध्यान दिनैपर्ने हुन्छ।

२) राजनीतिलाई पद प्राप्तिको साधनको रुपमा बुझ्ने?
राजनीतिलाई सम्भावनाको खेल, पद प्राप्तिको उद्देश्यको एउटा साधनका रुपमा बुझ्ने अहिलेको नेपालमा हामी रह्यौँ। सबै कुरा प्रधानमन्त्रीबाट फलानालाई हटाउनुपर्छ भन्नेमा केन्द्रित भयो। माओवादीसँग ८१ मत छ। हाम्रो संसद ६ सय १ को हो। अहिले ५ सय ९५ सदस्य छन्। त्यति भएको ठाउँमा ८१ सिट भएको दलको उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री सबै छ। न्यायोचित व्यवस्थापन र पार्टीहरुको मिल्तीको कुरा गर्नुहुन्छ भने यो उपयुक्त आधार होइन। आक्रोश, इर्ष्या, प्रतिशोधजन्य कुरा हो। पदीय स्वार्थलाई केन्द्र भागमा राखेर चल्ने कुरा हावी भए भने देशमा जायज र स्वस्थ कुराले महत्व पाउन्न।

३) आफूलाई टार्गेट गरिएको
अहिले के चलिरहेको छ भने केपी ओली जबसम्म अध्यक्ष छ, नेता छ, त्यसलाई बदनाम नगरिकन, तेजोबध नगरी, त्यसलाई नढालिकन, एमालेलाई कमजोर पार्न सकिन्न। अनेक प्रकारका षड्यन्त्र अहिले पनि भइराखेको छ। गम्भीर प्रकारका षड्यन्त्र विभिन्न ठाउँमा भइराखेको छ। तर हामी कसैले लगाइदिएको लिस्नोबाट चढेर यहाँ आइपुगेको हैन। हामी संघर्षका मैदानबाट यहाँ आएका हौँ, यो हेक्का रहोस्।

४) पार्टी घाइते भएको कि मान्छे?
सरकार परिवर्तन हुने बित्तिकै मलाई छक्क लाग्यो। मेरो नेतृत्वमा सरकार बन्नु अघि नै ४५/४६ जना मान्छे मरेको हो। मृतक परिवारका व्यक्तिलाई १० लाख रकम दिने भनेर फैसला गरेर रकम पनि दिएको हो। रकम भुक्तानी भइसक्यो। अहिले आएर सरकार तमासाको निर्णय गर्छ मृतकका परिवारलाई १० लाख दिने भनेर। यो भन्दा झुट, बेइमानी के हुन्छ? निर्णय उहिल्यै भइसक्या छ, उहिल्यै वितरण भइसक्यो। घाइतेको उपचार अहिले गराउने भन्छ – उहिलेको सरकारले विदेशमा समेत पठाएर घाइतेको उपचार गराएको छ। उपचारमा लागेको खर्चको बिल दिएको छ। उहाँहरुको माग थियो घाइतेको उपचार खर्च घाइतेलाई होइन, पार्टीलाई दिनुपर्छ भन्ने। पार्टी त घाइते भएको होइन होला, व्यक्ति होला। पार्टीको अपरेसन गर्नुपर्ने, मलमपट्टी लगाउनुपर्ने, ब्याण्डेज लगाउनुपर्ने त होइन होला। सरकारले व्यक्तिलाइ दियो। अब अहिले त धेरै उत्ताउला कुरा हुने गरेको छ।

५) भारतसँगको सम्बन्ध
सबैलाई थाहा छ हाम्रा दुई छिमेकी छन्। हामी छिमेकीहरुसँग अत्यन्त सुमधुर सम्बन्ध राख्न चाहान्छौँ। त्यसैकारण एमालेले नेतृत्व गर्नुअघि दक्षिणको सम्बन्ध धेरै बिग्रेको थियो र नाकाबन्दी भइसकेको थियो। नेपालीले गरेको भएपनि, भारतले गरेको भएपनि, नाकाबन्दीको अवस्था थियो। त्यस अवस्थाबाट सामान्य अवस्थामा ल्यायौँ। भारतका औपचारिक निर्णय र वक्तव्य हेर्नुभयो भने बिग्रिएको सम्बन्ध सुधारिएको कुरा छ। तर नेपालका केही मान्छेहरु यस कुरालाई फरक ढंगले चित्रित गर्न रुचाउँछन्। सम्बन्ध बिगार्यो भन्छन्। अविश्वासको प्रस्तावमा पनि अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन नभएको आरोप थियो।

६) सरकार परिवर्तन उचित थिएन
अघिल्लो सरकार परिवर्तन गर्नुपर्ने राजनीतिक, सामाजिक, आर्थिक, आन्तरिक, बाह्य कुनै पनि हिसाबले आवश्यक नभएको मात्र होइन, उचित पनि थिएन। नेपाली जनताको चाहना पनि होइन। संसदमा विभिन्न ढंगले प्रकट भएका दलीय संख्याको एउटा दबाबयुक्त र अनुपयुक्त कारणले सरकार परिवर्तन भयो। काम गर्न नसेकेको, विकास गर्न नसकेको आरोपमा होइन।

७) संवैधानिक र राजनीतिक रिक्ततामा पुर्‍याउने आभास
हामीले देखिसक्यौँ मंसिरमा स्थानीय निकाय निर्वाचनदेखि बैशाखमा प्रादेशिक निर्वाचन र अर्को मंसिरमा प्रतिनिधिसभाको निर्वाचनको तयारी समयबद्ध ढंगले कसरी गर्न सकिन्छ भनेर कार्यतालिकाका साथ आएका थियौँ। त्यसलाई बिगार्ने, त्यसलाई अलमल्याउने – मंसिरमा स्थानीय निकाय निर्वाचन त नहुने भइसक्यो। स्थानीय निकाय निर्वाचन गर्न हुँदैन भन्ने, स्थानीय तह मिल्दै मिलेन भन्ने र अल्झाउने त्यो कुरा हामीले देखिसक्या छौँ। अब हामीले संवैधानिक र राजनीतिक रिक्ततामा पुर्याोउने आभास हामीले पाइसकेका छौँ।

८) समाजसेवा गरे जस्तो गर्ने?
प्रधानमन्त्री निर्वाचित हुने बेला निर्वाचित प्रधानमन्त्रीले ठूलो समाजसेवा गरेको जस्तो कुरा गर्नुभयो। मैले माधवजीलाई प्रधानमन्त्री बनाइदिएँ, मैले झलनाथजीलाई प्रधानमन्त्री बनाइदिएँ, मैले केपी ओलीजीलाइ प्रधानमन्त्री बनाइदिएँ- मानौँ उहाँको ८१ सिट भनेको चार सयभन्दा बढी जस्तो। कसैले उहाँलाई बनाएको छैन, उहाँ आफैँ बन्नु भएको छ? उहाँको बन्नु हक हो, अरु बन्दा सहकार्य गर्दा पनि नमिलेको जस्तो।

२०६४ पछि उहाँलाई कसले भोट दिएर प्रधानमन्त्री बनाएको थियो? उहाँसँगै भोट थियो कि एमालेले भोट दिएर प्रधानमन्त्री बनाएको थियो? प्रधानमन्त्री के हो भन्ने थाहा पाएको त एमालेले काँधमा चढाएर कुर्सीमा लगेर राखिदिएकाले होला नि। त्यो बिर्सेर अनि मैले त समाजसेवा नै गरेको थिएँ झै गर्ने र यसलाई बनाएँ र उसलाई बनाएँ। पोहोर परार एमालेले बनाएको थियो, यसपटक कांग्रेसले बनायो।

९) के संशोधन चाहिएको हो? कस्तो पुर्नलेखन खोजेको हो?
संविधान संशोधनको विषयमा एमाले प्रतिक्रियाको राजनीति गर्दैन। एमाले प्रतिशोधको राजनीति गर्दैन। देश र हितको जनताको हितमा जेसुकै काम गर्न तयार हुन्छ। त्यसको हित विपरित कुनै मायावी जालमा एमाले पर्दैन। त्रासमा पनि पर्दैन, लोभमा पनि पर्दैन। त्यसकारण आग्रह राखेर होइन, आग्रहहीन ढंगले संशोधन के भनेको हो हामी बुझ्छौँ। के संशोधन चाहिएको हो कस्तो पुर्नलेखन खोजेको हो? धेरै भन्दिनँ। संविधान भनेको संशोधनीय दस्तावेज हो, संशोधन हुन सक्छ। संशोधन हुन सक्छ भनेर कसैले कुनै बेला केही भन्यो – यो चाँही संशोधन गरिदिनुपर्यो भनेर त्यतिबेरै संशोधन हुने कुरा हुन्न। त्यसको औचित्य हुन्छ, आवश्यकता हुन्छ। के आवश्यकता छ त्यसको?

१०) यो त लिखित म्यादी सरकार हो
अस्ति अस्ति मलाई म्यादी सरकार भन्थे। यो त लिखित म्यादी सरकार हो। यति मितिमा ल्याएर बुझाउँला भन्ने लिखितम् गरेको छ। दायाँ बायाँ औँठा सही छाप बुझाएको छ। यसले धेरै ठाउँमा धेरै वटा कागजमा ल्याप्चे ठोकेको छ। मलाई रिमोट कहाँबाट चल्छ समेत थाहा छ भने टिभीको च्यानल किन फेरियो भनेर यत्रो महत्व राख्दैन।

११) कहाँ कहाँ कागज गरेको छ, कबुल गरेको छ- एमालेले पूरा गर्ने होइन
संविधान संशोधनको विषयमा हाम्रो कुनै अडान छैन। देशका हित कहाँ हुन्छ हेर्छौँ। कसले कहाँ कागज गर्योश, पूरा गर्ने उनीहरुको काम हो। सबैले कहाँ कहाँ कागज गरेको छ, कबुल गरेको छ, एमालेले पूरा गर्ने होइन। एमालेले औचित्य, अनौचित्य – जायज/नाजायज राष्ट्रको पक्षमा आवश्यक/अनावश्यक हेर्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !