१४ बैशाख २०८१, शुक्रबार

अहिंसाको बाटोमा गरिएका आन्दोलन दिगो हुन्छ : सभापति देउवा


deuva

१६ असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो र भरपर्दो हुने बताउनुभएको छ । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले १५० औँ गान्धी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको २१ औँ शताब्दीको लोकतन्त्र र गान्धी विषयक विचार गोष्ठीमा उहाँले महात्मा गान्धी भारतीय स्वतन्त्रता सङ्ग्रामका शीर्ष पुरुष भएको बताउनुभयो ।

“अङ्ग्रेजजस्तो बलियो शक्तिलाई आन्दोलनबाट हटाउन गान्धीको महत्वपूर्ण योगदान रहेको थियो,” उहाँले भन्नुभयो । सभापति देउवाले गान्धीले देखाएको बाटोमा ठूला परिवर्तन हुन्छ भन्ने सन्देश नेपालमा भएका परिवर्तनले दिएको उल्लेख गर्नुभयो । उहाँले काँग्रेस नेता स्वर्गीय महेन्द्रनारायण निधि गान्धीवादी नेता भएको भन्दै गान्धीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पार्नुभयो ।

काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले गान्धीले चलाएको अहिंसात्मक आन्दोलनमा नेपाली जनताको पनि उत्तिकै साथ र सहयोग रहेको उल्लेख गर्नुभयो । “गान्धीले देखाएको अहिंसा र शान्तिको बाटोमा अहिले भारतीय जनता अगाडि बढेका छन्,” उहाँले भन्नुभयो । नेता निधिले बन्दुकको नालबाट ल्याएको सत्ता लामो समय टिक्न नसक्ने स्पष्ट पार्नुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिले गान्धी बहुआयमिक क्षमताका व्यक्ति भएको बताउनुभयो । “सत्यको पक्षमा कसैसँग नडराउने गान्धीको विशेषता थियो,” उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले हिंसाको विरुद्धमा गान्धीले चालेको कदम महत्वपूर्ण रहेको बताउनुभयो । “गान्धीलाई माक्र्सवादको दृष्टिकोणले समेत हेर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

भारतीय जनता पार्टीका प्रवक्ता एवं सांसद तरुण विजयले गरीब, दुःखी र शोषित जनताको पक्षमा उभिने व्यक्ति गान्धी भएको बताउनुभयो । “भारतीय स्वतन्त्रताका सेनानीको रुपमा गान्धीलाई लिन सकिन्छ,” उहाँले भन्नुभयो । उहाँले विश्वेश्वरप्रसाद कोइराला नेपालका लागि गान्धीवादी नेता भएको उल्लेख गर्नुभयो ।

काङ्ग्रेस आईका सचिव चन्द्र कुमारले गान्धीको आदर्श र सिद्धान्तलाई अहिलेका युवामाझ बुझाउनु जरुरी रहेको उल्लेख गर्नुभयो । “भारतलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउन गान्धीको अतुलनीय योगदान रहेको छ,” उहाँले भन्नुभयो । सो अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी, प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, प्रा वीणा पौड्याललगायतले गान्धी भारतको मात्र नेता नभएर विश्वको नेता भएको बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !