२३ बैशाख २०८१, आइतबार

संसदीय समितिमा महिलाको नेतृत्व सुखद् : उपसभामुख


dr

६ असोज, काठमाडौँ । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिमा ६० प्रतिशत महिलाले नेतृत्व गर्ने अवसर पाउनु सुखद् भएको बताउनुभएको छ ।

महिला कानून व्यवसायीको २७ औँ सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राज्यका हरेक निकाय अब महिला समावेशीकरणतर्फ उन्मुख भएको बताउनुभयो ।

‘‘लैङ्गिक प्रतिनधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला आन्दोलनको उद्देश्य थियो’’ उहाँले भन्नुभयो, ‘‘विस्तारै व्यवहारमा लागू हुँदै जानु खुशीको कुरा हो ।’’

उपसभामुख डा तुम्बाहाम्फेले संविधान कार्यान्वयनका लागि मौलिकहकसँग सम्बन्धित १६ वटा कानून निर्माण भइसकेको जानकारी दिदैं कानून निर्माण प्रक्रियामा सहभागिता जनाउन कानून व्यवसायी महिलालाई अग्रसर हुन आग्रह गर्नुभयो ।

स्थानीय निकायको न्यायिक समितिको नेतृत्व उपप्रमु्खले पाउनुलाई सुखद् अवसरका रुपमा लिनुपर्ने बताउँदै त्यसको नेतृत्वमा कानुन व्यवसायी पृष्ठभूमिका महिलाको प्रतिनिधित्व भएको खण्डमा अझै सहज हुने धारणा व्यक्त गर्नुभयो ।

यसैबीच आजै यहाँ तेह्रथुम सरोकार समाजले आयोजना गरेको कार्यक्रममा उपसभामुख डा तुम्बाहाम्फेले संविधान कार्यान्वयनमा सहयोगी हुन आग्रह गर्नुभयो ।

‘‘सामाजिक सङ्घसंस्थाले संविधान कार्यान्वयनमा सहयोग गर्न सक्छन्,’’ उहाँले भन्नुभयो, ‘‘तपाईंहरुले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुहोस् ।’’

कार्यक्रममा उपसभामुख डा तुम्बाहाम्फेसहित कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, प्रतिनिधिसभाका सदस्यद्वय डा विजय सुब्बा र भवानी खापुङ तथा प्रदेशसभाका सदस्यद्वय लक्ष्मण तिवारी र तेजमान कन्दङ्वालाई सम्मान गरिएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !