१४ बैशाख २०८१, शुक्रबार

देउवाको निर्देशन : यो एमालेको हैन ओली गुटको मात्र महत्त्वाकांक्षा हो, थप उच्छृङ्खल नहुनू


Sher_B_Deuba

काठमाडौँ : नेपाली कांग्रेसको संसदीय दलको आज बिहान बसेको बैठकमा सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सत्तापक्षबाटै संसदको अवरोध लगायतका गतिविधि भए पनि अनुशासित भएर त्यसलाई अवलोकन गर्न र लोकतान्त्रिक विधिबाट मात्रै जवाफ फर्काउन निर्देशन दिएका छन्।

सत्तारुढ दल एमालेले पहिला आर्थिक विधेयक पास नभए अविश्वासको प्रस्ताव सदनमा पेश हुनै नदिने गरी संसद अवरुद्ध गर्ने निर्णय गरेको छ।

‘लोकतन्त्र मान्छु भनेर एमालेले भन्दै आएपनि सत्ता छाड्ने बेला उसले देखाएको चरित्रले प्रमको व्यक्तित्वलाई उदाङ्गो पारेको छ’, देउवाको भनाईलाई उद्धृत गर्दै सांसद वीरबहादुर बलायरले पहिलोपोस्टलाई भने, ‘अहिले अल्पमतमा परिसकेपछि पनि जुन किसिमको व्यवहार देखिएको छ, त्यो समग्र एमाले पार्टीको विचार जस्तो देखिँदैन। समग्र पार्टीलाई भन्दा पनि यसले केपी ओलीको महत्वाकाङ्क्षा र उनको गुटलाई मात्र प्रतिनिधित्व गर्छ। त्यसैले थप उच्छृङ्खल हुन आवश्यक छैन।‘

संसदीय दलको बैठकले संसदीय कार्यसमिति र पार्टीको केन्द्रीय समितिले गरेको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ। अविश्वास प्रस्तावलाई पास गर्ने, लोकतान्त्रिक मूल्यमान्यता अनुसारको सरकार गठन गर्ने लगायतका निर्णय यसमा पर्छन्।

संसद बैठक बिहान ११ बजेका लागि डाकिएको भए पनि १० बजेदेखि बल्ल सभामुख र प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा बैठक सुरु भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !