१८ बैशाख २०८१, मंगलबार

मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत


सरोजकुमार यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिपक्ष दलले बहिस्कार गरेको प्रदेशसभा बैठकबाट मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् ।

बैठकलाई प्रतिपक्ष दलहरू नेपाली कांग्रेस, जनमत पार्टी, लोसपाले बहिस्कार गरेका थिए । मुख्यमन्त्री यादवले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव सभामुखले मत विभाजनपछि निणयार्थ प्रस्तुत गर्दा ६१ सांसदको विश्वासको मत पाएका हुन् ।

प्रदेशसभाको कुल सदस्य सङ्ख्याको बहुमत अर्थात ५३ जना सांसदको मत पाउनुपर्नेमा मुख्यमन्त्रीले सो भन्दा बढी अर्थात ६१ सांसदको मत पाएका हुन् । बैठकमा सहभागी ६१ जनामा सबैले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।

सभामुख रामचन्द्र मण्डलले उनले प्राप्त गरेको मत आवश्यक बहुमत (५३) भन्दा धेरै रहेको जनाउँदै विश्वासको मत पाएको घोषणा गरे । सत्ता समीकरणमा भएको परिवर्तनपछि मधेस प्रदेशका मुख्यमन्त्रीले पुन विश्वासको मत लिएका हुन् ।

गत माघ ८ गते सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको झडपका विषयमा संसदीय छानबिन समितिको माग गर्दै जनमत पार्टीका प्रदेशसभा सदस्यले प्रदेशसभाभित्रै वेल घेराउ गरी विरोध जनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !