२३ बैशाख २०८१, आइतबार

संसदीय छानबिन समिति गठन नगरे काँग्रेसले संसद बैठक चल्न नदिने


काँग्रेस संसदीय दलको बैठक नयाँवानेश्वर फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगीको बिषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन नगरेसम्म संसद बैठक चल्न नदिने भएको छ ।

नेपाली काँग्रेसका संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको बैठकले उक्त ठहर गरेको बैठक पछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनमा उठाउँदै आएको माग सही भएको ठहर गरेको बताए ।

प्रमुख सचेतक लेखकले अधिराज्यभरका लाखौं जनताको अरबौं रकम सहकारी मार्फत अपचलन भएको र यसमा सरकारका मन्त्रीहरुनै संलग्न भएको तथ्य र प्रमाणहरुले देखाइसकेको तर्क गर्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत सहकारी ठगीमा संलग्न भएको देखिएकाले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनको लागि संसदीय छानबिन समिति गठन गर्न काँग्रेसले सरकारसँग माग गर्ने निर्णय गरेको बताए ।

संसद अबरुद्ध भएमा यस्को जिम्मा सरकारले लिनु पर्ने बताउँदै प्रमुख सचेतक लेखकले नेपाल बहुजातीय, बाहुभाषिक र बहुधार्मिक मुलुक भएकाले सुनसरीमा देखिएको झडप र असहिष्णुता प्रति चिन्ता व्यक्त गर्दै संसदीय दलको बैठक मार्फत काँग्रेसले त्यहाँ धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न सबै धर्म समुदायलाई अपील समेत गरेको छ । काँग्रेसले सो झडपमा परी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभाको कामना समेत गरेको छ ।

संसदीय दलको बैठकले संघीय संसद अन्तर्गतको विभिन्न बिषयगत समितिमा रहेका आफ्ना सांसदहरुले संसदीय समितिको गतिविधिमा प्रभावकारी रुपमा सहभागी भई प्रभावकारी भूमिका खेल्न निर्देशन समेत दिएको छ ।

प्रमुख सचेतक लेखकले पत्रकारहरुको प्रश्नको जवाफ दिंदै उपप्रधान एवं गृहमन्त्री रवि लाछानेको बिषयमा स्वयं प्रधानमन्त्रीले सदनमा जवाफ दिएको र प्रधानमन्त्रीकै जवाफ सुनिसके पछि सरकारको अर्को मन्त्रीको सोही बिषयमा जवाफ सुन्न आवश्यक नभएको प्रतिक्रिया दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !