२० बैशाख २०८१, बिहिबार

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा


कृष्णबहादुर महरा सीआईबी कार्यालयमा

काठमाडौं । पूर्वसभामुख एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा आज दिउँसो हाजिरी जमानीमा रिहा भएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई हाजिर जमानीमा छाडिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको टोलीले पूर्वसभामुख महराको आज बयान सकिएपछि उनलाई हाजिरी जमानीमा छाडिएको सीआईबी स्रोतले जनाएको छ । उनलाई प्रहरीले बोलाएको समयमा उपस्थित हुने सर्तमा जेठा छोरा निर्मल महरासमक्ष जिम्मा लगाइएको हो ।

महरालाई गत चैत ५ गते सोमबार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको थियो । महरालाई जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो । महरामाथि बुधबारदेखि बयान लिन सुुरु गरेर आज बयान सकिएपछि उनको शारीरिक अवस्था एकदमै नाजुक भएकोले सोलाई दृष्टिगत गर्दै प्रहरीले उनलाई थुनामुक्त गरेको हो ।

सुनको अवैध तस्करी एवम् नियन्त्रणसम्बन्धमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठित आयोगले महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा ब्यूरोले महरालाई पक्राउ गरेको थियो ।

उनले यसअघि काठमाडौँ जिल्ला अदालतसमक्ष आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग गरेका थिए । अदालतमा महराले आफूले विभिन्न ८ प्रकारका औषधि खाँदै आएको र स्वास्थ्य अवस्था ठिक नभएकाले अस्पतालमा बस्नुपर्ने आवश्यकता रहेको बताएका थिए । महरालाई टीबी, युरिक एसिड, प्राेस्टेट लगायतका स्वास्थ्य समस्या रहेका छन् ।

गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उहाँको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उहाँसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !