२३ बैशाख २०८१, आइतबार

राष्ट्रिय सभामा प्रिबजेट छलफल सकियो


राष्ट्रियसभाको बैठक

काठमाडौं । राष्ट्रिय सभामा आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि विनियान विधेयकका सिद्धान्त र प्राथमिकता(प्रिबजेट) माथिको छलफल आजबाट सकिएको छ । प्रिबजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको आज अर्थमन्त्री बर्षमान पुनले जवाफ समेत दिए पछि छलफल आजबाट सकिएको हो ।

राष्ट्रिय सभाको आजको बैठकमा समेत प्रिबजेट सम्बन्धि छलफल भएको थियो । आजको छलफलमा सांसदहरु जगप्रसाद शर्मा, कृष्णप्रसाद पौडेल, सोनाम गेल्जेन शेर्पा, जयन्तीदेवी राई, पुजा चौधरी, मदनकुमारी शाह गरिमा, जितजंग बस्नेत, गोपिबहादुर सार्की आछामीले भाग लिंदै आगामी बजेटले समेट्नु पर्ने बिषयमा सभाध्यक्ष मार्फत अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

राष्ट्रिय सभाको आजको बैठकको शुरुमा सांसदहरुले आकस्मिक र शुन्य समयमा बोल्दै सभाध्यक्ष मार्फत समसामयिक र जनसरोकारका बिषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए । अर्थमन्त्रीको जवाफ पछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रिबजेट छलफलका क्रममा सांसदहरुले दिएका सुझावलाई एकीकृत गरी सचिवालय मार्फत अर्थमन्त्रालयमा पठाइने पनि सभालाई जानकारी गराएका थिए ।

बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ लाई दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा अर्थमन्त्री बर्षमान पुनले ‘सुरक्षित कारोबार(पहिलो संशोधन) विधेयक, २०८० लाई दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतीले स्वीकृत गर्दै उक्त विधेयकलाई दफाबार छलफलको लागि विधायन समितिमा पठाएको हो । बैठकले ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति समेत प्रदान गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उक्त प्रस्ताव माथि सामान्य छलफल भई छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डको तर्फबाट संचारमन्त्री शर्माले जवाफ समेत दिएकी थिइन् ।
राष्ट्रिय सभाको आजको बैठकले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम(१) बमोजिम कार्य व्यवस्था परामर्श समितिमा रहने सदस्यहरुलाई मनोनयन समेत गरेका छ ।

सांसदहरु क्रमशः आनन्दप्रसाद ढुंंगाना, गोपिबहादुर सार्की आछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी शाह गरिमा, मोहम्मद खालिदलाई कार्य व्यवस्था परामर्श समितिमा मनोनयन गरिएको हो । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालद्वारा प्रस्तुत उक्त मनोनयन सम्बन्धितको प्रस्वालाई सभामले सहमति जनाएको थियो ।

बैठकमा ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरण र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन’लाई सर्वसम्मतीले स्वीकृत गरेको छ । बैठकमा संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरण र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्ताव माथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले जवाफ समेत दिएका थिए । मन्त्रीको जवाफ पछि सभाध्यक्ष दाहालले उक्त प्रतिवेदनमा उल्लेख भएका सुझावहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन समेत दिएका थिए । राष्ट्रिय सभाको अर्को बैठक यही चैत्र १५ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी आजलाई स्थगित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !