२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित


नारायण दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रियसभाको आज मंगलबार बसेको बैठकले दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरेको हो ।

राष्ट्रियसभा सदस्य दाहाललाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो । आज भएको मतदानमा दाहालको पक्षमा बहुमत सदस्यले मतदान गरेपछि दाहालको नाम स्वीकृत भएको सभाको अध्यक्षता गरिरहेकी उपाध्यक्ष उर्मिला अर्यालले घोषणा गरेकी हुन् ।

सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका सांसद दाहाललाई माओवादी केन्द्र, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को समर्थन रहेको थियो ।

मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए भने दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत परेको थियो । दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ नाता पर्ने व्यक्ति हुन् । उनी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पनि हुन् ।

दाहाललाई अध्यक्ष पदको उम्मेदवारका लागि माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव गरेका थिए भने एमालेका सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल र जसपा नेपालका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।

मनोनीत सांसद वामदेव गौतमले पनि दाहालका पक्षमा मतदान गरे भने राष्ट्रिय जनमोर्चाका एक जना सांसदले कसैलाई मतदान नगरी तटस्थ बसे ।

राष्ट्रियसभाको अध्यक्ष पदको लागि दाहाल र नेपाली कांग्रेसका सांसद युवराज शर्मा गरी दुई जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

यसअघि आजै केही समयअघि राष्ट्रियसभा सदस्य शर्मालाई राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । उक्त मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मतदान गरेपछि शर्माको नाम अस्वीकृत भएको थियो ।

कांग्रेसका सांसद शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पनि समर्थन रहेको थियो । सो मतदानमा भने जम्मा ५६ जना सांसद उपस्थित थिए भने शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको थियो ।

कांग्रेसका उम्मेदवार शर्मालाई अध्यक्ष पदमा काँग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रस्ताव गरेका थिए भने काँग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंहले समर्थन गरेका थिए ।

सभाका नवनिर्वाचित अध्यक्ष दाहाललाई बधाई दिँदै उपाध्यक्ष अर्यालले कार्यकालको सफलताको कामना गरिन् । सभाको अर्को बैठक यही फागुन ३० गते बुधबार १ बजेर ९ मिनेटमा बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !