२० बैशाख २०८१, बिहिबार

बालुवाटारमा प्रचण्ड, ओली र नेपालबीच छलफल


ओली, प्रचण्ड र नेपाल

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच छलफल गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई लिएर बालुवाटार छिरेका हुन् । आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष हमाल र महासचिव भूसाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीसँग विभिन्न विषयमा छलफल गरेपछि प्राप्त हुने जवाफका आधारमा थप निर्णय लिइने बताइएको छ । प्रधानमन्त्री दाहालले नयाँ समीकरणमा आउन प्रस्ताव गरेको विषयमा सचिवालय बैठकमा छलफल भएको थियो ।

एकीकृत समाजवादीले सरकारमा जाने संकेत गरेको हो । आफूहरूका सर्तहरू मान्न तयार भए एकीकृत समाजवादी सरकारमा सहभागी हुन तयार रहेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमालेका अध्यक्ष ओली पनि केही समयअघि बालुवाटार छिरेका छन् । उनी पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालवीचको छलफलमा सहभागी भएका छन् । उक्त छलफलमा माओवादीका नेता वर्षमान पुन पनि सहभागी भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !