२२ बैशाख २०८१, शनिबार

प्रतिपक्षी दलको विरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित


एमालेद्वारा प्रतिनिधिसभाको बैठक अवरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेकपा (एमाले) का सांसदहरुले विभिन्न माग राखी नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको छ ।

एमाले सांसदहरुले सरकारले मिटरब्याज पीडित तथा दूग्ध किसानका समस्या समाधानमा गम्भीर नभएको आरोप लगाउँदै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल एमालेलगायत अन्य विपक्षी दलका सांसदहरु आफ्नो आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटालाई बोल्न समय दिएका थिए ।

सांसद बाँस्कोटाले विपक्षी दलले सदनमा उठाएका समसामयिक विषयमा सरकार गम्भीर नभएको, सभामुखले रुलिङ गर्दा समेत सरकारले कुनै जवाफ नदिएको टिप्पणी गरे । उनले मिटरब्याज पीडित न्यायका लागि काठमाडौँ आउनुपरेको अवस्थामा सरकारले वेवास्ता गरेको, दूधको मूल्य नपाएर किसानले दूध बाटोमा पोख्नुपरेको अवस्थामा समाधानमा कुनै पहल नगरेको आरोप लगाए।

सांसद बाँस्कोटाले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विवादित मन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने माग गरे ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडित जनताले न्याय नपाएको, दुग्ध किसानका समस्या समाधानमा सरकार गम्भीर नभएको र लघुवित्त पीडितले न्याय नपाएको उल्लेख गर्दै समस्या समाधानमा ठोस सम्बोधन नभए बैठक अवरोध गर्ने चेतावनी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने सभामुखबाट स्पष्ट रुलिङ गरेपछि सम्बन्धित मन्त्रीले जवाफ किन नदिएको भनी प्रश्न गरे । उनले मिटर ब्याज पीडितका समस्या सम्बोधनका लागि कानुन बनेपछि सरकारले कार्यान्वयन गर्न नसक्दा उनीहरुले न्याय नपाएको बताए ।

बैठकमा एमालेका सांसद आसनबाट उभिएपछि सभा सञ्चालनका लागि सभामुखले पटकपटक आग्रह गर्दा पनि नबसेपछि बैठक स्थगित गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !