५ जेष्ठ २०८१, शनिबार

देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाईदै


राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं । आज फागुन ७ गते, प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ७४ औँ प्रजातन्त्र दिवस मनाईदैछ । २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कीत व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम पनि तय भएको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सार्वजनिक तथा सामुदायिक सङ्घसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारी, नागरिक समाजका लव्धप्रतिष्ठित व्यक्तित्व लगायतको सहभागीता रहने छ ।

गत गत माघ २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० मूल समारोह समितिको बैठकले दिवसलाई फागु ६, ७ र ८ गते तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको थियो। बैठकले घर–घरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन आह्वानसमेत गरेको थियो ।

काठमाडौँ उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख सम्मिलित समिति गठन गरिएको छ ।

साथै सरसफाइ, प्रभातफेरि, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, साँस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

यस अवसरमा विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष त्यसै दिन राज्यभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरुमासमेत हर्षोल्लासपूर्वक भव्यतासाथ राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रजातन्त्र दिवसलाई विसं २०४६, २०६३ र २०६५ का परिवर्तनको जगका रुपमा सम्झना गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधानसभाबाट संविधान जारी हुन सफल भएको थियो ।

फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना र विसं २०६३ वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले विसं २०७२ असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । यी सबै परिवर्तनका जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेष रुपमा मनाउने गरिएको हो । आजको दिनमा तिनै वीर वीरागङ्ना शहीदहरुको बलिदानले आएको प्रजातन्त्रको सम्मानमा नेपालले भब्यतापूर्वक प्रजातन्त्र दिवस मनाउँदै छ ।

स्वतन्त्र नेपालीको स्वाभिमानी सपनाहरु यिनै प्रजातान्त्रिक अभ्यासहरुभित्र कोरिंदै आएको छ, तत्कालिन जहानिया राणा शासनका विरुद्धमा उत्रेको जनलहरकासामू राणा शासकहरुको केही जोर चलेन्, जनताको बोलीका अगाडि बन्दुकका गोली टिक्न सकेन अनि नयाँ नेपालको प्रथम खाकाको प्रथम कदम उचालिएको थियो, विसं २००७ साल फाल्गुन ७ अर्थात् आजकै दिन र त्यसको नाम थियो “प्रजातन्त्र” ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !