२४ बैशाख २०८१, सोमबार

‘जनयुद्ध’ प्रधानमन्त्री पद र सत्ता कब्जाका लागि मात्रै भएको रहेछ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् ।

आज मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्ला गतिविधिहरू हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताएका हुन् ।

उनले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको बताए । ओलीले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गरे । जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार सो बेलामा पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गरे ।

माओवादीले त्यसबेला हिंसा किन गरेको भन्ने अहिले पनि पुष्टि गर्न नसकेको अध्यक्ष ओलीको भनाइ छ । युद्धका पीडितले हालसम्म पनि न्याय नपाउनु दु:खद भएको उनले बताए ।

अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन १८ वर्षसम्म नटुंगिनु बिडम्बना भएको बताए । हिंसा मच्चाउनेहरू सरकारमा पुगेर शासक भइसक्दा समेत पीडितलाई पीडामै राख्नु कतिसम्मको न्यायसंगत हो ? भन्ने प्रश्न गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !