२२ बैशाख २०८१, शनिबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । सरकारले गंगालाल अस्पतालको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मल्ललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । यस्तै सरकारले नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ ।

सरकारले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका पुनलाई महाप्रबन्धक नियुक्त गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

१. नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने ।

२. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

३. राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌समक्ष पेस गर्न स्वीकृति दिने ।

४. सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका श्री किरणबाबु पुनलाई नियुक्त गर्ने ।

५. नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने ।

६. सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !