१९ बैशाख २०८१, बुधबार

हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश खारेजीको माग गर्दै राप्रपाले देशभर आन्दोलन गर्ने


राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था, सर्वधर्म सद्भाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश तह खारेजीको माग गर्दै ‘बृहत्’ आन्दोलन गर्ने भएको छ ।

गत आइतबारदेखि आज मंगलबारसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको हो ।

आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु गरिने, फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको छ ।

यस्तै आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवम् देशभित्र र देशबाहिर रहेका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सहभागी हुन आग्रह गरेको छ ।

बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आन्दोलनको मूल समितिसहित चार वटा समिति गठन गरेको छ । आवश्यक अनुसार अन्य समिति बनाउने पनि निर्णय गरेको छ ।

पार्टीका संगठन विभाग प्रमुख एवं महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ । पार्टीका कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरिएको उनले बताए । प्रवक्ता श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन गरिएको छ ।

यस्तो छ राप्रपाले जारी गरेको प्रेस विज्ञप्ति

राप्रपा

राप्रपा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !