१९ बैशाख २०८१, बुधबार

भूकम्प पीडितलाई चिसोबाट जोगाउनु पहिलो प्राथमिकता : ऊर्जामन्त्री बस्नेत


शक्तिबहादुर बस्नेत

जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार गएको भूकम्पबाट पीडित भएका सर्वसाधारणलाई चिसो तथा हिमपातबाट जोगाउनु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सहभागितामा भएको अन्तक्र्रियामा उनले यसअघि भूकम्पको समयमा गरिएका कामको सिकाइलाई जाजरकोटमा भएको क्षतिसँग जोडेर पुनःनिर्माणको कामलाई अभियानका रुपमा अगाडि बढाइने बताए ।

पुनःनिर्माणको अभियानमा सबै विकास साझेदार निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री बस्नेतले तत्कालका लागि राहत व्यवस्थापन महत्वपूर्ण रहेको उल्लेख गरे । राहत सामग्री बोक्नका लागि ठूलो हेलिकप्टर प्रयोग गर्न खोजिए पनि अवतरणमा समस्य भएको उनको भनाइ थियो । ठूला ढुवानीका साधन पालिकाको सदमुकामसम्म पुग्नसक्ने अवस्था नभएकाले राहत व्यवस्थापनमा ढिला भएको उनले बताए ।

सानो हेलिकप्टर प्रयोग गर्दा राहत सामग्री थोरैमात्र ढुवानी भएको मन्त्री बस्नेतले जानकारी दिए । बाहिरबाट आएका सामग्री एकद्वार प्रणालीबाट सबै ठाउँका परिचालन गर्न पठाइएको जनाउँदै उनले सदरमुकामबाट पठाइएका सामग्री जाम भएपछि समस्य आएको बताए । सदरमुकामबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट वडा कार्यालय र वडा कार्यालयबाट पीडितसम्म पुग्नका लागि समय लागेको मन्त्री बस्नेतको भनाइ थियो । वडाध्यक्षले वडा सदस्यलाई समेत परिचालन गरेर सामग्री वितरण गर्नुपर्नेमा उहाँले जोड दिए ।

केन्द्रबिन्दुमा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै भएको मन्त्री बस्नेतले बताए । बारेकोट, कुशे गाउँपालिकामा त्रिपालको समस्या देखिएको भन्दै खाद्यान्नभन्दा पनि त्रिपालको समस्या बारेकोटमा बढी देखिएको उनले बताए ।

जाजरकोट र रुकुमपश्चिममा भएको क्षतिलाई एउटा योजना बनाएर पुनःनिर्माणको काम गरिने मन्त्री बस्नेतले समितिलाई जानकारी गराए । पुनःनिर्माण तथा पुनःस्थापनाको कामलाई गति दिन समस्या भइरहेको उनको भनाइ थियो । बढी चिसो भएमा पीडितलाई अस्थायी सेन्टर स्थापना गरी व्यवस्थापनको काम गरिने उहाँले जानकारी दिए ।

मन्त्री बस्नेतले दुःखमा साथ दिने, योगदान गर्ने, सल्लाह, सुझाव र हौसला दिने सबैलाई जाजरकोटको प्रतिनिधिका हिसाबले धन्यवादसमेत दिए । सुरक्षाकर्मी मित्रको पुर्याएको योगदानलाई भुल्नै नसक्ने भन्दै उनले विशेष धन्यवाद दिए ।

विद्यालयमा टहरा बनाएर पढाउने योजनामा स्थानीय तह

तिहारलगत्तै खुल्ने तरखरमा रहेका सामुदायिक विद्यालयमा भूकम्पले क्षति बनाएपछि तत्काल कसरी पठनपाठन सुरु गर्ने भन्नेमा स्थानीय तह समस्यमा परेका छन् । माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको जिम्मा रहेकाले तिहारलगत्तै विद्यालय खोल्नुपर्ने अवस्था छ ।

भूकम्पले अधिकांश विद्यालयमा क्षति हुनुका साथै चिसोयामका कारण अर्को समस्य थपिने भएकाले शैक्षिक गतिविधि कसरी अगाडि बढाउने भन्ने विषयमा बहस हुन थालेको छ । अधिकांश घर बस्न योग्य नभएको अवस्थामा विद्यालयसमेत भत्किएपछि विद्यार्थी चर्को समस्यमा परेका छन् ।

शैक्षिक क्रियाकलाप अगाडि बढाउनका वैकल्पिक टहरा निर्माण गरेर विद्यालय खोल्ने योजनामा रहेको स्थानीय तहले बताएका छन् । रूकुमपश्चिमको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले टहरा बनाएर भए पनि पठनपाठन थाल्ने बताए । “अहिले उद्धारम लागि परेका छौँ । अब तिहारलगत्तै हामी टहरा बनाएर भए पनि वैकल्पिक रूपमा पठनपाठन सञ्चालन गर्नेछौँ”, उनले भने ।

आठबिसकोटमा ६७ वटा विद्यालयमा क्षति भएको शिक्षा विकास तथा समन्वय इकाइ रुकुमपश्चिमले जनाएको छ । इकाइ प्रमुख ताराप्रकाश पुनमगरले प्रदेश र स्थानीय तहसँग समन्वय गरी वैकल्पिक बाटोबाट पठनपाठन सञ्चालनको तयारी भइरहेको जानकारी दिए ।

नलगाड नगरपालिकामा पनि वैकल्पिक तरिकाले विद्यालय सञ्चालनमा ल्याइने नगरप्रमुख डम्बर रावतले बताए । पठनपाठन सञ्चालनकाबारे प्रदेश सरकार, विभिन्न सङ्घसंस्थासँग छलफल गरेर भौतिक संरचनाभन्दा पनि, टहरालगायत उपाय अपनाएर गर्ने योजनामा रहेको उनको भनाइ थियो । नलगाढ बढी भूकम्पबाट प्रभावित क्षेत्र हो ।

नगरप्रमुख रावतका अनुसार उक्त नगरपालिकाभित्र ३४ विद्यालय पूर्णरूपमा क्षति भएका छन् । जाजरकोट र रूकुमपश्चिमलगायत क्षेत्रमा भूकम्पबाट दुई सय सात सरकारी विद्यालयमा क्षति भएको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा एक सय ५२ विद्यालयमा क्षति पुगेको छ । शिक्षा विकास तथा समन्वय इकाइ रुकुमपश्चिमका इकाइ प्रमुख पुनमगरले भूकम्पबाट ३८ विद्यालयमा पूर्ण र १७ विद्यालयमा आंशिक क्षति भएको जानकारी दिए । उनका अनुसार भेरी नगरपालिकामा दुई विद्यालय पूर्णरूपमा भत्किएका छन् भने आंशिकरूपमा १७ वटामा क्षति भएको छ ।

नलगाड नगरपालिकामा १२ विद्यालय पूर्णरूपमा भत्किएका छन् भने आंशिकरूपमा २१ वटामा क्षति पुगेको छ । छेडागाडमा तीन, कुशेमा चार र बारेकोटमा पाँच विद्यालय विद्यालय पूर्णरूपमा भत्किएका प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्कअनुसार शिवालय गाउँपालिकामा पाँच विद्यालयमा आंशिक र जुनिचाँदे गाउँपालिकामा २३ विद्यालयमा पूर्ण क्षति भएको छ ।

रुकुमको आठबिसकोटको माथिल्लो डोल्पासँग जोडिएको भागमा, जाजरकोटको नलगाड नगरपालिकाको माथिल्लो भागमा तथा बारेकोट गाउँपालिकामा बढी चिसो तथा हिमपात हुने गर्दछ । घरविहीन भएका बालबालिका अस्थायीरुपमा निर्माण गरिएका टहरामा गएर शिक्षा लिने सम्भावना बढेको छ । यसरी शैक्षिक क्रियाकलाप अगाडि बढाउँदा बालबालिकाको दिमागका कति मनोवैज्ञानिक त्रास होला भन्ने अर्को प्रश्न उठेको छ । अहिले पनि समयसमयमा बालबालिका झस्किने गरेका स्थानीय बताउँछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !