१९ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता


प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा आपसीहित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले हिमालयपार सम्पर्क सञ्जाल दुई देशका लागि महत्वपूर्ण भएको बताउँदै त्यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री दाहालले चिनियाँ सरकारको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान प्रान्तबाट सिधा उडानको अपेक्षा गरेको बताए ।

नेपालले आसन्न विश्व जलवायु सम्मेलनमा जलवायु परिवर्तनका असरको विषयलाई मुख्य एजेण्डाका रुपमा उठाउने जानकारी दिँदै प्रधानमन्त्री दाहालले त्यसमा चीनजस्ता ठूला मुलुकले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । विश्वमञ्चमा जलवायु परिवर्तनले पारेको असरबारे नेपालले उठाएका विषयमा समर्थन गर्न पनि उनले आग्रह गरेका थिए ।

प्रधानमन्त्री दाहालले नेपाल र तिब्बतको सीमामा रहेका नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकारले पहल लिएकामा धन्यवाद दिँदै मित्रराष्ट्र चीनबाट आगामी दिनमा थप सहजीकरणसहित सहयोग प्राप्त हुने अपेक्षा गरे ।

नेपालमा गएको भूकम्पका समयमा चीन सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भूकम्पको पूर्व सूचना संयन्त्र विकासमा पनि नेपालले अपेक्षा गरेको उल्लेख गरे । उनले ल्हासा–काठमाडौँ सिधा उडानको तयारीप्रति चीन सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।

एक चीन नीति नेपालको राष्ट्रिय नीति भएको उनले स्पष्ट पारेका थिए । त्यसैगरी प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चिनफिङको नेतृत्वमा चीनले गरेको आर्थिक प्रगतिको सराहना गर्दै ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ उहाँको दूरगामी प्रयास भएको बताएका थिए ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले चीनको पूर्वप्रधानमन्त्रीको निधनप्रति दु:ख व्यक्त गरेका छन् । चिनियाँ पक्षले ल्हासा विमानस्थलको एउटा टर्मिनलको काम सक्न बाँकी रहेको र त्यो सकिनेवित्तिकै ल्हासा–काठमाडौँ प्रत्यक्ष उडान हुने प्रधानमन्त्री दाहाललाई जानकारी गराएको थियो ।

त्यसैगरी सचिव जुनझेङले पूर्वाधार, नेपाल–चीन सम्पर्क सञ्जाल, आर्थिक विकास र पर्यटनका क्षेत्रमा नेपालसँग मिलेर काम गर्न चाहेको बताएका थिए । उनले जनताजनताबीचको सम्बन्ध विकासका लागि नेपालको प्राथमिकतामा रहेको उल्लेख गर्दै त्यसका लागि दुई देशबीचको विभिन्न तहमा भइरहेका भ्रमणले पुष्टि गर्ने बताए ।

सो अवसरमा सचिव जुनझेङले हालै जाजरकोट भूकम्पमा परी मृत्यु भएकाप्रति चीन सरकारका तर्फबाट गहिरो दु:ख व्यक्त गर्दै अरु थप सहयोग गर्ने विषयमा चीन तयार रहेको बताए । उनले विगतदेखि नेपालले लिँदै आएको एक चीन सिद्धान्तप्रति नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको प्रेस विज्ञ तिमिल्सिनाले जानकारी दिए । यसअघि चीनसँग भएका सम्झौता कार्यान्वयन गरिने विषयमा पनि छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रुपक सापकोटा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द अचार्यलगायतको सहभागिता रहेको थियो । चीनका तर्फबाट नेपालस्थित चिनीयाँ राजदूत छन् सङलगायत प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !