४ जेष्ठ २०८१, शुक्रबार

पर्यटनलाई मुलुकको समृद्धिसँग जोड्न जरुरी छ : पर्यटनमन्त्री


rabindraa

२४ जेठ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटनलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मक अभिवृद्धिको खाँचो रहेको बताउनुभएको छ ।

पर्यटन मन्त्रालयले आज चन्द्रागिरि हिल्समा आयोजना गरेको पर्यटन क्षेत्र प्रबुद्ध विज्ञ समूहको कार्यशाला तथा प्रथम बैठकलाई सम्बोधन गर्दै उहाँले पर्यटनमा उद्यमशीलताको विकास गरी मुलुकको समृद्धिसँग जोड्न जरुरी भएको बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, “पर्यटन क्षेत्रलाई उद्योगका रुपमा स्थापित गर्न गुणात्मकरुपमा फड्को मार्न जरुरी छ, यसमा सरकार र निजी क्षेत्रको साझेदारितालाई अझ फराकिलो बनाएर लैजानुपर्छ ।”

पर्यटन क्षेत्रमा अहिलेसम्म जति प्रगति भएको छ, त्यो निजी क्षेत्रकै देन हो, उहाँले भन्नुभयो, “लगानीमैत्री वातावरण सिर्जना गरी निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न जरुरी छ ।”

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विकासका योजना र आगामी रणनीति तथा सरकारले घोषणा गरेको सन् २०२० सम्म २० लाख पर्यटक पु¥याउने अभियानलाई कसरी सार्थक तुल्याउनेभन्नेबारे प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा पर्यटन क्षेत्र प्रबुद्ध समूहकातर्फबाट पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठले विज्ञ समूहको मस्यौदा अवधारणापत्र र मस्यौदा सञ्चालन कार्यविधि प्रस्तुत गर्नुभयो ।

उहाँले पदयात्रा तथा साहसिक पर्यटन प्रवद्र्धन विज्ञ समूह, प्रादेशिक, सांस्कृति तथा घरबास पर्यटन प्रबुद्ध समूह, पर्यटन पूर्वाधार तथा जनशक्ति विकास प्रबुद्ध विज्ञ समूह र पर्यटन नीति तथा कानून परिमार्जन प्रबुद्ध विज्ञ समूहको घोषणासमेत गर्नुभयो ।

विज्ञ समूहले आआफ्नो क्षेत्रमा गर्नुपर्ने सुधार, संरचनागत तथा कानूनी सबै प्रक्रियाबारे विस्तृत प्रतिवेदन सरकारलाई बुझाउनेछ ।

विज्ञकातर्फबाट पर्यटन व्यवसायी मदन आचार्य, सिएन पाण्डे, योगेन्द्र शाक्य, सिर्जना राणालगायतले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो सर्त भएकाले सरकारसँगको साझेदारीमा अघि बढ्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानीमैत्री वातावरण बनाएको खण्डमा निजी क्षेत्रले पर्यटकीय पूर्वाधार विकासमा ठूलो लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पूर्वपर्यटनसचिव दीपेन्द्रपुरुष ढकालले पर्यटकको संख्या बढाउनेभन्दा पनि उनीहरुको बसाइँ लम्ब्याउने र खर्च गराउने वातावरण सिर्जना गर्न सरोकार भएका निकायको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी, ख्यातिप्राप्त पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !