२१ बैशाख २०८१, शुक्रबार

नेकपा एमालेमा १ लाख ६१ हजार नयाँ सदस्य


नेकपा (एमाले)

काठमाडौँ । नेकपा (एमाले) मा दशौँ राष्ट्रिय महाविधेशनयता एक लाख ६१ हजार नयाँ सङ्गठित सदस्य थपिएका छन् । नयाँ र नवीकरणसहित हाल एमालेमा सङ्गठित सदस्य पाँच लाख ५० हजार पुगेका छन् ।

पार्टीको प्रदेश कमिटीका अधिवेशन सुरु हुनुअघि एमाले केन्द्रीय कार्यालयमा अभिलेख भएको विवरणअनुसार सो परिमाणमा पार्टीका सङ्गठित सदस्य रहेको केन्द्रीय सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार अब प्रवास कमिटीमा रहेका सङ्गठित सदस्यको सङ्ख्या विवरण आउन बाँकी छ ।

“हामीले प्रदेश कमिटी अधिवेशनसम्म पार्टी सदस्यता नवीकरण गर्न भनेका थियौँ”, उनले भने, “प्रदेश कमिटी अधिवेशन सकिएपछि जिल्ला अधिवेशन सुरु हुन्छ । त्यतिबेला पनि पार्टी सदस्यता वितरण, नवीकरणको कार्य हुन्छ ।”

एमालेको दशौँ राष्ट्रिय महाविधेशनमा आठ लाख ५५ हजार सदस्य रहेका थिए । नवौँ महाधिवेशनताका पार्टीका सदस्य दुई लाख ५६ हजार सात सय ७२ थिए भने त्यसपछि सात लाखको हाराहारीमा सदस्य पुगेका थिए ।

सचिव ढुङ्गेलले दशौँ महाधिवेशनका समयमा पार्टी सङ्क्रमणकाल (एमाले र माओवादी केन्द्रसँगको एकता) मा रहेको र अभिलेखमा पार्टी सदस्यता दोहोरिएकाले त्यसबेला पार्टी सदस्यको सङ्ख्या बढी भएको बताए । एमालेको दशौँ महाधिवेशन २०७८ मङ्सिर १० देखि १३ गतेसम्म चितवनको सौराहा भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !