२१ बैशाख २०८१, शुक्रबार

संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण स्थगित


एन्टोनियो गुटर्रेस

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले नेपाल भ्रमण स्थगित गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले असोज २६ गते आउने भनिएका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित भएको पुष्टि गरिन् । “राष्ट्रसंघको महासचिवको नेपाल भ्रमण अहिले स्थगित भएको हो,” उनले नेपालपत्रसँग भनिन्, “तर भ्रमण छिट्टै हुन्छ ।”

राष्ट्रसंघका महासचिव गुटेरसले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । उनी नेपाल भ्रमणका लागि असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो ।

असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमणमा आउन लागेका महासचिव गुटरेसले असोज २७ गते शनिवार संयुक्त सदनलाई सम्बोधन गर्नेगरी कार्यक्रम बनाइएको हो । तीनदिने नेपाल भ्रमणका क्रममा उनले लुम्बिनी र पोखरा जाने कार्यक्रम तय गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएपछि भ्रमणको मिति तय गरिएको थियो ।

द्वन्द्वकालीन मुद्दाको किनारा लगाउन राजनीतिक दलहरूलाई सकस भइरहेका बेला उनी नेपाल आउँदै थिए । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा काठमाडौं आउन लागेका महासचिव गुटेरेस २९ गते यतैबाट चीन जाने कार्यक्रम तय भएको थियो ।

नेपाल बसाइका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, राजनीतिक दलका नेतासँग भेट गर्ने कार्यक्रम तय भएको थियो । गुटेरेसले द्वन्द्वकालका पीडितहरूसँग समेत भेट गर्ने तयारी गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !