२० बैशाख २०८१, बिहिबार

हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : नेता डा. रिजाल


डा. मिनेन्द्र रिजाल

ताप्लेजुङ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताएका छन् । ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे ।

कांग्रेस ताप्लेजुङ प्रदेश क्षेत्र (क) को क्षेत्रीय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै देशका हरेक ऐतिहासिक परिवर्तनमा पार्टीको निर्णायक भूमिका रहेको र यसलाई कायम गर्दै जाने बताए । मुलुकका हरेक कठिन परिस्थितिको सामना गर्न नेपाली कांग्रेस अग्रसर रहँदै आएको उल्लेख गर्दै उनले आगामी समयमा समेत मुलुक परिवर्तनमा कांग्रेसको भूमिका निर्णायक र महत्वपूर्ण हुनेमा विस्वास व्यक्त गरे ।

राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई समृद्धितर्फ अघि बढाउन पार्टीको महत्वलाई जोड दिएका नेता डा. रिजालले विभिन्न विषयलाई लिएर कतिपय नेता कार्यकर्तामा देखिएका असन्तुष्टि र समस्यालाई छलफल र संवादमार्फत नै अन्त्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्यसमेत रहेका ताप्लेजुङ प्रदेश क्षेत्र (ख) का सभापति खगेनसिं हाङ्गाम, प्रदेश सदस्य इन्द्र केदेम, पार्टीका जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङलगायतले आ–आफ्नो धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !