१९ बैशाख २०८१, बुधबार

गीत–सङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य : उपप्रधानमन्त्री खड्का


पूर्णबहादुर खड्का फाइल फोटो

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गीत–सङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य भएको बताएका छन् । मङ्गलबार यहाँ आयोजित एक समारोहमा ‘रातो टिकी’ साङ्गीतिक श्रव्यदृश्य सार्वजनिक गर्दै उनले गीत–सङ्गीत समाजलाई बदल्ने अस्त्रका रूपमा प्रयोग हुनसक्ने बताए ।

श्रव्यदृश्य हेरेपछि उपप्रधानमन्त्री खड्काले सम्पूर्ण निर्माण समूहलाई गीत–सङ्गीतका माध्यमले समाजलाई सकारात्मक सोच प्रवाह गरेको भन्दै बधाई दिए ।

उनले भने, “श्रीमान्को मृत्यु भएपछि आफ्नो जीवन खुसीले बाँच्न पाउने महिलाको अधिकारलाई श्रव्यदृश्यमा देखाइएको छ । उमेर हुँदै पति गुमाउँदा बाँकी जीवन ती महिलाको उमेर भएको, आफ्नो जीवन आफ्नो खुसीले बाँच्न पाउने हक, आफ्नो जीवन अन्य महिलाको जस्तै गरी बाँच्न पाउने हकबारे प्रष्ट सन्देश श्रव्यदृश्यमा छ । हाम्रो संस्कार, संस्कृति, परम्परा, त्यसले विगतमा छेकबार लगाए पनि अहिले समाज परिवर्तनशील छ, यसलाई श्रव्यदृश्यमा राम्रोसँग देखाइएको छ ।”

मुलुकको पश्चिमी भेगमा अझै पनि संस्कार, संस्कृति, परम्पराका रूपमा यस्तो प्रचलन रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले समाजलाई बदल्न जरुरी रहेको जिकिर गरे । श्रव्यदृश्यमार्फत समाजलाई बदल्ने कुरा देखाएकामा उहाँले सम्पूर्ण समूहलाई आगामी दिनमा पनि यस्तै सन्देशमूलक काम गर्न आग्रह गरे ।

गीतमा अभिनय गर्नुभएका अभिनेता राजेश हमाल हाल देशबाहिर रहेकोले उनले श्रव्यदृश्यमार्फत सन्देश पठाएका थिए । उनले भने, “गीत–सङ्गीतमार्फत दिइने सन्देशलाई हेरेर बुझ्न र मनन गर्न सबैमा आग्रह गर्दछु ।”

‘रातो टिकी’ गीतमा कृष्ण विक, मेलिना राई र रेखा जोशीको स्वर दिएका छन् । सुरेश अधिकारीले रचना गरेको उक्त गीतमा उहाँकै सङ्गीत रहेको छ । गीतको श्रव्यदृश्यमा अभिनेता हमालसँगै दिलीप रायमाझी, केकी अधिकारी र नीता ढुङ्गानाले अभिनय गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !