१९ बैशाख २०८१, बुधबार

संविधान दिवसले लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनाओस् : पूर्वअध्यक्ष रेग्मी


खिलराज रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संवैधानिक विधि र विधानको पालना एवम् अनुसरण गर्दै लोकतन्त्रको यात्रा सुखमय र समृद्धिमय बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

नवौँ संविधान दिवसका अवसरमा रासससँग कुराकानी गर्दै उनले संविधानको व्यावहारिक कार्यान्वयनलाई छिटो पूर्णता दिँदै लोकतन्त्रको प्रतिफल जनसमक्ष पुर्याउनु नै अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताए ।

पूर्वअध्यक्ष रेग्मीले भने, “ढिलो गर्ने छुट कति पनि छैन । तसर्थ, समस्या देखाएर होइन समाधान दिएर परिणाममुखी काम गर्न सके मात्र संविधानको मर्म र भावनाअनुरुप अघि बढिएको ठहर्छ ।” जनअपेक्षाअनुरुप परिणाममा संविधानको उद्देश्य प्रतिबिम्बित हुने कार्य सबैलाई आग्रह गर्दै उनले संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्न सुझाव दिए ।

ऐतिहासिक सङ्घर्ष र आन्दोलनबाट भत्किँदै तथा फेरिँदै वर्तमान लोकतान्त्रिक संविधानको प्राप्ति र कार्यान्वयनमा आएको घटना स्मरण गराउँदै पूर्वअध्यक्ष रेग्मीले भने, “हामी समीक्षा गरौँ आठ वर्षमा जनताको आकाङ्क्षा र संविधानको भावनाअनुसार कति काम गर्न सक्यौँ र कति अगाडि बढ्न सक्यौँ ?”

पूर्वप्रधानन्यायाधीश रेग्मीले भने, “संवैधानिक अभ्यासमा त्रुटिको कुरा राज्यका उच्च निकायलाई अदालतले पटक–पटक किन सम्झाउनु परिरहेछ ? लेखाजोखा गर्दै अघि बढ्नु आजको आवश्यकता हो ।”

सामाजिक मर्यादा भङ्ग हुने र स्व-अनुशासन भत्काउन उद्यत प्रवृत्तिले लोकतन्त्र, न्यायपूर्ण समाज, सामाजिक सद्भाव सुदृढ होला ? भनी प्रश्न गर्दै उनले शान्ति द्वन्द्वकालीन मुद्दाको १७ वर्षसम्म समाधान नहुँदा समाजमा द्वन्द्व र सङ्घर्षलाई सम्झाउने काम गरिरहेको बताए ।

पूर्वअध्यक्ष रेग्मीले संविधान कार्यान्वयनका लागि बनाइनुपर्ने कतिपय कानुन अझ निर्माण हुन बाँकी रहेको तथा सङ्घीयताको कार्यान्वयनमा गर्नुपर्ने काम समेत प्रसस्तै बाँकी रहेको बारे सरोकारवाला पक्षको ध्यानाकर्षण गराए । उनले संविधान दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुखद भविष्यका लागि शुभकामना दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !