२० बैशाख २०८१, बिहिबार

दलहरूबीच सहमति भएपछि प्रतिनिधिसभाको बैठक सुरु


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलको संयुक्त बैठकमा दुईबुँदे सहमति भएसंगै आज सदन चलेको हो ।

झण्डै एक महिनादेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बुधवारदेखि खुलेको छ । संसदको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सम्बोधन गर्दै दलहरुबीच भएको सहमति सदनलाई जानकारी गराएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुबीच आज बुधबार बस्ने प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको थियो । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति गर्दै एकै ठाउँ आएका हुन् ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट बरामद गरेको थियो । उक्त सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारवाहीमा अवरोध गर्दै आएको थियो ।

तर संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले गत सोमबार सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने उच्च स्तरीय छानबिन समिति बनाउने सैद्धान्तिक सहमति गरेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !