२३ बैशाख २०८१, आइतबार

सीआईबीद्वारा सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी


ललिता निवास प्रकरण

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने तयारी गरेको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गरिरहको सीआईबीले मुद्दाको फाइल आज सोमबार सरकारी वकिलमा बुझाउने तयारी गरेको हो ।

सीआईबीले हिजो आइतबार राति पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपालको कोटेश्वर र डा. बाबुराम भट्टराईसँग टोखास्थित निवासमै पुगेर बयान लिएसकेपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको हो ।

ललिता निवास प्रकरणमा विगतदेखि दुई पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको नाम जोडिदै आएको थियो । सर्वोच्च अदालतले उक्त प्रकरणमा विगतदेखि चर्चा भएर नाम जोडिदै आएका दुई पूर्वप्रधानमन्त्रीहरु नेपाल र भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुल्ला गरिदिएको थियो ।

सर्वोच्चले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न निर्देशनात्मक आदेश जारी गरेसंगै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको थियो । सर्वोच्चले उक्त प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गर्ने र निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले गत साउन २१ गते दिएको आदेशअनुसार सीआईबीले नीतिगत निर्णयमा संलग्न दुवै पूर्वप्रधानमन्त्रीहरुलाई हिरासतमा नलिई उनीहरुकै घरमा पुगेर बयान लिएको हो । यसअघि साउन २९ गतेको सत्ता गठबन्धनको बैठकले दुवै नेतालाई जोगाउने उपायको खोजी गरेको थियो ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको बयान नलिएको भन्दै तीव्र आलोचना हुँदै आएर चौतर्फी दबाब बढ्दै गएपछि सीआईबीले उनीहरुको बयान लिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन मन्त्रिपरिषद्बाट निर्णय गराएको भन्दै सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय डा. भट्टराई र नेपालसँग बयान लिन २१ साउनमा सीआईबीलाई आदेश दिएको थियो ।

*अनुसन्धान प्रतिवेदन बुझाउने तयारी हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ – प्रधान-सम्पादक


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !