२२ बैशाख २०८१, शनिबार

संसद विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलन ध्वस्त हुने अवस्थामा पुगेकोले आफूले संसद विघटन गरेको स्पष्ट पारेका छन् ।

आज मंगलवार एमाले बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्नका लागि आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् ।

ओलीले पार्टी जोगाउनका लागि प्रतिनिधिसभा विघटन नगरी नहुने स्थिति आएको बताउदै प्रतिनिधिसभा विघटन गरेर प्रतिक्रियावादीहरुको ठूलो षड्यन्त्र असफल पारेको दाबी गरेका हुन् ।

ओलीले तत्कालीन समयमा आफूहरुलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै आफूले संसद् विघटन गरिदिएर सो डोरी छिनाल्दिएको बताए । उनले प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले सङ्गठन बिस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रूपमा पुनः स्थापित गरी प्रतिनिधि सभामा प्रवेश गरेको बताए ।

ओलीले प्रतिनिधि सभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे । उनले पार्टीका नेता, कार्यकर्ताहरु कहिलेकाहीँ राजनीतिक अलमलमा पर्ने गरेको भन्दै त्यसरी अलमलमा नपर्न आग्रह पनि गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !