२० बैशाख २०८१, बिहिबार

सर्वोच्चले छानबिन गर्न आदेश दिएको भोलिपल्ट माधव नेपाल उडे स्वीटजरल्याण्ड


माधव नेपाल

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल विदेश भ्रमणमा लागेका छन् ।

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा विगतदेखि चर्चा भएर नाम जोडिदै आएका पूर्वप्रधानमन्त्रीहरु नेपालमाथि पनि अनुसन्धान गर्न बाटो खुल्ला गरिदिएको भोलिपल्ट बिहानै उनी विदेशतिर उडेका हुन् ।

प्रवासी नेपाली एकता मञ्च युरोपले स्वीटजरल्याण्ड लगायत देशमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । उक्त प्रकरणमा छानबिन गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्ट नै उनी स्वीटजरल्याण्ड गएका हुन् ।

उनको सचिवालयका अनुसार टर्किस एअरको विमानबाट आज बिहान साढे ७ बजे इस्तानबुल हुँदै जेनेभाका लागि नेपाल उडेका हुन् । सर्वोच्चको अदालतबाट भएको फैसलाका सन्दर्भमा नेपाल जानकार रहेको पनि सचिवालय जनाएको छ ।

सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा शुसासन कायम गर्नुपर्छ भन्ने कुरामा नेपालको दृढ मान्यता रहेको उनको सचिवालयले बताएको छ । उनी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !