२१ बैशाख २०८१, शुक्रबार

कांग्रेसको बहुप्रतिक्षित केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै


काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसको बहुप्रतिक्षित केन्द्रीय समिति बैठक आज बस्दै छ । कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु हुने भएको हो ।

काँग्रेसको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने बताइएको छ । यसअघि हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न एजेण्डाहरुको कार्यसूची तय गरेको छ ।

पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ ।

यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको छ ।

पार्टीको सोमबार भएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय गरेको छ । हिजो बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेका थिए ।

कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको देहान्त भएकोले आवश्यक तयारी नपुगेको भन्दै साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

कांग्रेस विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने भए पनि झन्डै एक वर्षपछि आज बस्न लागेको हो । गत वर्ष साउन २७ देखि असार २ गतेसम्म कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थियो ।

यस्तो छन् काँग्रेसको केन्द्रीय समिति बैठकका एजेण्डाहरु

१. समसामयिक विषय ।
२. सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।
३. कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरू अनुमोदन ।
४. पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।
५. नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।
६. विभाग गठनसम्बन्धी प्रस्ताव ।
७. एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।
८. अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव ।
९. प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।
१०. सरकारमा पार्टीको भूमिकाबारे उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराउने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु