११ जेष्ठ २०८१, शुक्रबार

अर्थमन्त्री डा. महतद्वारा जैविक विविधता संरक्षण गर्न हरित उर्जामा जोड


डा. प्रकाशशरण महत

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय तथा जैविक विविधताको संरक्षण गर्न हरित उर्जाको स्रोतका रुपमा जलविद्युत् विकासमा जोड दिनुपर्ने बताएका छन् । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय Sustainable Finance and Infrastructure Session मा बोल्दै मन्त्री डा. महतले नेपालको हिमालय क्षेत्रको वातावरणीय तथा जैविक विविधता संरक्षण गर्न हरित उर्जाको स्रोत जलविद्युतको विकास गर्न र जलवायु परिवर्तनको असर न्युनिकरण गर्न अनुदान सहायता बढाउनु पर्नेमा जोड दिए ।

‘दीगो विकासको लक्ष्य हासिल गर्न स्रोतको खाडल बढ्दै गएको र यथास्थितिकै प्रयासबाट धेरै देशहरू पछाडि छुट्ने जोखिम रहेको बताउनु हुँदै उनले भने, ‘वातावरणीय तथा सामाजिक उपलब्धिको लागि विकास वातावरण तथा शासकीय पक्षलाई एकीकृत गर्नुपर्छ ।’

आगामी पुस्तासमेत आवश्यकता पूरा हुने गरी गुणस्तरीय, उत्थानशील तथा दीगो पूर्वाधारको विकासमा लगानी गर्नुपर्नेमा जोड दिँदै मन्त्री डा. महतले निर्माण सामग्री, प्रविधि तथा कार्यान्वयन र सञ्चालन बिधि सामाजिक र वातावरणीय दायित्वसँग तादात्म्यता हुनुपर्ने एवं विद्यमान सामाजिक तथा वातावरणीय चुनौतिहरुको सम्बोधन गर्दै अझै दीगो भविष्य निर्माण गर्न योगदानको लागि अपिल गरे ।

हरित प्रविधिको थप लागत हुने, न्यून आय भएका मुलुक जलवायु परिवर्तनबाट असमानुपातिक रुपमा प्रभावित भएकाले वातावरणीय न्यायका लागि अग्रसर हुन अपिल गर्दै मन्त्री डा. महतले अरुको क्रियाकलापले गर्दा कमजोर मुलुकमा बढी प्रभाव परेको हुँदा दीगो वित्तीय प्रवाह सुनिस्चित गर्न आव्हान गरे ।

सम्मेलनमा भारत, अमेरिका, चीन, जापान, फ्रान्स र रसियालगायतका सदस्य राष्ट्र र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), एशियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता संस्थाहरूको सहभागिता रहेको छ । सम्मेलन भोलि मंगलबारसम्म चल्ने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !