२० बैशाख २०८१, बिहिबार

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै


एकीकृत समाजवादी सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । हिजोबाट सुरु भएको बैठक आजसम्म स्थगित गरिएको थियो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा हिजो बसेको बैठकमा नेताहरूले बोल्न क्रम जारी रहेकाले आज बिहान पुनः बस्ने गरी स्थगित भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल हुनेछ । सङ्गठन सुदृढीकरण विशेष अभियानसम्बन्धी जानकारी गराइएको बैठकमा वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्य विभाजन, पार्टीका रिक्त रहेको पदाधिकारी तथा सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विषयमा प्रस्ताव र कमिटीका समायोजन तथा थपघटबारे छलफल पनि गरिनेछ ।

आजदेखि तीन दिनसम्म चल्ने बैठकमा जनसङ्गठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन, प्रचार विभागबारे पनि छलफल हुनेछ । पार्टी परित्याग गरी गएका चूडामणि जङ्गली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायत नेताको पद रिक्त छ भने बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद पनि रिक्त छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !