२२ बैशाख २०८१, शनिबार

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाइ भेट


युसुफबिन मोहम्मद अल–हेल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हेलले आज बिदाइ भेट गरेका छन् ।

राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष कार्यकक्षमा भएको बिदाइ भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको विषयमा कुराकानी भएको थियो ।

अध्यक्ष तिमिल्सिनाले ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकामा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे ।

उनले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्समार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ भने ।

अध्यक्ष तिमिल्सिनाले कतारलगायतका मुलुकको थप उन्नत बन्दै गएको श्रमबजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिक पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताए ।

उनले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसको आवतजावतलाई सहज बनाएको छ र पर्यटन प्रवर्द्धनमा मद्दत गरेको उल्लेख गर्दै हाल नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सिधा हवाई उडान गरिरहेका छन् भने ।

यस्तै नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत् सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको कुरा दोहोर्याउँछु भने ।

भेटमा राजदूत युसुफबिन मोहम्मद अल-हेलले नेपाली श्रमिकले कतारको विकासका लागि पुर्याएको योगदानको प्रसंशा गर्दै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने विषयमा पनि गम्भीर रहेको बताए ।

उहाँले पोखरालगायतका बिमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरूको चासो राखेर नेपाल सरकारका निकायमा पाँच-छ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासोसमेत गरे । उनले नेपालले चासो राखेर अघि बढेमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित उडान गर्न कुनै समस्या नरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !