२३ बैशाख २०८१, आइतबार

पर्यटनमन्त्रीले क्यानका महानिर्देशकलाई दोस्रोपटक सोधे तीनदिने स्पष्टीकरण


सुदन किराती र प्रदीप अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधेका छन् ।

पहिलोपटक जवाफ दिन सात दिनको समय दिएर ९ बुँदे स्पष्टीकरण सोधेका मन्त्री किरातीले महानिर्देशक अधिकारीले सो समयसीमा भित्र अटेरी गरेर जवाफ नदिएपछि दोस्रोपटक स्पष्टीकरण सोधेका हुन् ।

अहिले भने जवाफ नदिनुको कारण स्पष्ट रूपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ पेस गर्न मन्त्री किरातीले निर्देशन दिएका छन् । निर्धारित समयमा जवाफ नदिए कानुनबमोजिम प्रक्रिया अघि बढ्ने समेत मन्त्री किरातीले चेतावनी समेत दिएका छन् ।

मन्त्रालयको नीति विपरीत अभिव्यक्ति दिएको भन्दै पर्यटनमन्त्री किरातीले गत सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै सात दिनभित्र स्पष्ट जवाफसहितको विवरण पेस गर्ने गरी अधिकारीलाई सोधेका थिए ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका थिए ।

अधिकारी महानिर्देशक भए पनि नेपाली दर्ताका दुई वटा विमान र तीन वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयान सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाई असफल रहेको किन मान्नु नपर्ने ?’ भनेर पनि प्रश्न सोधिएको थियो ।

यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको, उडान सुरक्षा प्रतिकूल हुनेगरी काम गरेको, पोखरा विमानस्थलमा उडानसम्बन्धी सम्पूर्ण तयारी नगरी उडान सुरु गरेर उडान सुरक्षामा गम्भीर लापरबाही गरिएको लगायत विषयमा जवाफ मागिएको थियो ।

महानिर्देशक अधिकारीले समाजिक संजाल द्विटरमा लेख्दै प्राधिकरण स्वायत्त संस्था भएको भन्दै आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले मन्त्रिपरिषद्ले नै स्पष्टीकरण सोध्नुपर्ने अडान राख्दै आएका छन् । यसरी पर्यटनमन्त्री किराती र महानिर्देशक अधिकारीबीच शीतयुद्ध सुरु भएको हो ।

यो पनि पढ्नुहोस्

पर्यटनमन्त्री किरातीले सोधे प्राधिकरणका महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !