२१ बैशाख २०८१, शुक्रबार

गौर हत्याकाण्डको रिटको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा


सर्वोच्च अदालत

काठमाडौँ । रौतहट सदरमुकाम गौरमा नरसंहार भएको १६ वर्षपछि घटनाबारे आज सर्वोच्च अदालतमा सुनवाइ हुँदै छ । गौर हत्याकाण्डसम्बन्धी रिटको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

रौतहटको गौरमा रहेको राइस मिलमा २०६३ साल चैत ७ गते २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा घटना भएको थियो ।

दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले आइतबार रिट दायर गरेका थिए । हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले दोषीमाथि छानबिन तथा मुद्दा दायर नगरेको भन्दै पीडित परिवारले सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् ।

पीडित परिवार र आफन्तका तर्फबाट साहले दायर गरेको रिटमा नरसंहारका दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग गरिएको छ । जाहेरीमाथि अनुसन्धान गरी मुद्दा दायर गर्न अन्तरिम आदेश जारी गरिएको रिट इजलासको अन्तिम सूचीमा छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालय रौतहट लगायतलाई विपक्षी बनाइएको छ ।

तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरेकोमा सोही क्रममा हिंसात्मक झडप हुँदा २७ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

२०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको सो घटनामा संलग्न रहेको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवमाथि कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय रौतहटले सम्बोधन गरेको थिएन भने सरकारले गौर हत्याकाण्डलाई राजनीतिक घटना भन्दै आरोपितलाई उन्मुक्ति दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !