२१ बैशाख २०८१, शुक्रबार

नीति तथा कार्यक्रम पुनर्लेखन गरौँ, राजाको पनि सम्पत्ति छानबिन गरौं : राजेन्द्र लिङ्देन


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकारले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आज उनले यसअघि हिजो प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई गरेको आग्रहलाई दोहोर्याएका राप्रपाका अध्यक्ष लिङ्देनले पनि समर्थन गरेका हुन् ।

पञ्च र राजाहरुबाटै सम्पत्ति छानबिन सुरु गर्न आग्रह गरेका छन् । उनले नीति तथा कार्यक्रममै स्वतन्त्र नागरिक आयोग गठनको विषय उल्लेख गर्न आग्रह गरेका छन् ।

उनले नातागोता र परिवारको सम्पत्ति छानबिन गरिने, अवैधानिक सम्पत्ति जफत गरिने र कारबाहीमा ल्याइनेछ भनेर नीति तथा कार्यक्रममा लेख्न अनुरोध समेत गरे ।

उनले सरकारको नीति तथा कार्यक्रमले वर्तमान आर्थिक सङ्कटको योजना ल्याउन नसकेको टिप्पणी गरेका छन् । नीति तथा कार्यक्रममा सरकारले देशलाई कुन बाटोबाट अगाडि लैजाँदैछ भन्ने मार्गचित्र हुनुपर्ने उनले बताए ।

अहिले देशको अवस्था सामान्य नरहेको र देशले आर्थिक सङ्कट भोगिरहेको अवस्थामा नीति तथा कार्यक्रममा यसको कसरी सामना गर्ने भन्ने समाधानका उपाय हुनुपर्ने सांसद लिङ्देनले उल्लेख गरे ।

नीति कार्यक्रममा समस्या पहिचान र प्राथमिकता प्रष्ट छुट्याउन नसकेको उल्लेख गर्दै सांसद लिङ्देनले कतिपय विषयमा विरोधाभाष रहेको बताए । रोजगारमूलक उद्योग खोल्ने, बिजुली सहुलियतमा दिने, दलले शेयर नखोज्ने, युनियनबाजी नहुनेजस्ता ग्यारेन्टी गर्नसके उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहन मिल्ने उनको भनाइ थियो ।

पर्यटनको पूर्वीय दर्शनको उद्गमथलो नेपाल भएको र बुद्ध तथा हिन्दूत्वको सरकारी तवरबाटै विकास गर्नुपर्ने सुझाव दिँदै सांसद लिङ्देनले पर्यटनको कुरालाई जोड्दा धार्मिक पर्यटनलाई बिर्सनु नहुनेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !