१९ बैशाख २०८१, बुधबार

विकासमा पक्षपात भयो भने विद्रोह हुन्छ : अध्यक्ष तिमिल्सिना


गणेशप्रसाद तिमिल्सना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विकासका योजना छनौटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता ब्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका वडा नं ७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै सो बताएका हुन् ।

‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ ।’, उनले भने, ‘बिना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरुले नपाउने भयो भने त्यस्तो अबस्थामा विद्रोह हुन्छ । पक्षपातरहित ढंगले बिकासको समानुपातिक वितरण आवश्यक छ ।’

अध्यक्ष तिमिल्सिनाले विकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनौटमा पर्छन भन्ने धैर्यता राख्ने र निती निर्माण तहमा रहेका व्यक्तिले बिना पक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुन्छ भने ।

तीन वटै तहका सरकारले आगामी आर्थिक बर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनौट गर्न उनले आग्रह पनि गरे ।

२०५४ सालमा पोखरा बागलुङ सडक मात्रै रहेको अबस्थाको चर्चा गर्दैै तत्कालिन जिल्ला विकास समिति पर्वतमा सभापति भएपनि आफ्नै गाउँमा सडक बनाएर र अरु गाउँमा सडक उद्घाटन गर्दै छ भनेर आरोप लागेको स्मरण पनि अध्यक्ष तिमिल्सिनाले गरे । आफुँ तत्कालिन जिविस सभापति हुँदा कार्यकालको अन्तिम बर्ष मात्रै गाउँ आउने सडकका लागि बजेट बिनियोजन गरेको थिए भने ।

पर्वत जिल्लाका सबै वडा कार्यालयहरु सम्म पुग्ने सडकहरु कालोपत्रे हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भइरहेका र योजना छनौट प्रकृयामा रहेका स्थानका बासिन्दालाई पनि धैयता गर्न आग्रह गरे । उनले आफुँ राष्ट्रियसभालाई राम्रो समय चलाउने तर बचेको समय विकास निर्माण र देशका अन्य सरोकारका बिषयमा पनि लागिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिना, गण्डकी प्रदेशसभाका सदस्य भक्त कुवँर, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्मा, निर्वतमान अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष बिमल लामिछाने, वडा नं ७ का अध्यक्ष दुर्गाप्रसाद शर्मा, निर्वमान वडा अध्यक्ष बसन्त गुरुङ्ग लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

उक्त वडा कार्यालय भवन ६८ लाख रुपैयाको लागतमा निर्माण भएको थियो । भवन निर्माणका लागि रुद्रप्रसाद तिमिल्सिना र निलकुमारी तिमिल्सिनाले २ रोपनी ६ आना जग्गा निशुल्क दिएका थिए भने स्थानीय लोकनाथ रिजालले बाटोको लागि जग्गा प्रदान गरेको वडा कार्यालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !