काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीचको बैठक जारी रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी शीर्ष नेताहरुको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि मिसिएका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल भएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणले देशको राजनीति तरंगित भएका बेला तीन राजनीतिक दलका शीर्ष नेताहरुको सिंहदरबारमा जारी बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
आज बिहान मात्र नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेतासमेत रहेका पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका थिए ।
सो प्रकरणका योजनाकार मध्येका एक भएको आरोप लागेका पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेका छन् । रायमाझीलाई आजै बुधबार दिउँसो पार्टीले निलम्बन समेत गरेको छ ।
अहिले तीन शीर्ष नेताहरुबीच टीआरसीबारे छलफल जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले बताएको छ । आजको बैठक हिजोकै छलफलको निरन्तरता भएको बताइएको छ । हिजो मंगलबार पनि शीर्ष नेताहरुको छलफल भएको थियो ।
यो पनि पढ्नुहोस्