२१ बैशाख २०८१, शुक्रबार

सांसद रायमाझीको असंसदीय भाषा संसदको रेकर्डबाट हटाउन निर्देशन


गणेश प्रसाद तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले यही वैशाख २४ गतेको राष्ट्रिय सभाको बैठकमा बोलेको असंसदीय तथा अमर्यादित शब्दलाई हटाउन निर्देशन दिएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकको शुरुमा नै अध्यक्ष तिमिल्सिनाले सांसद रायमाझीले अधिवेशन प्रारम्भको अवसरमा बोल्नेक्रममा सांसद रायमाझीले बोलेको ‘उहाँको झट्केलो छोरो हो टोपबहादुर रायमाझी’ भन्ने शब्दावलीलाई हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

राष्ट्रिय सभाको हिजो सोमबारको बैठकमा नेकपा(एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले काँग्रेस सांसद रायमाझीको उक्त भनाई प्रति आपत्ति जनाउँदै सभाध्यक्ष मार्फत उक्त अमर्यादित शब्दहरु हटाउन माग गरेका थिए ।

जवाफमा अध्यक्ष तिमिल्सिनाले आफूले सो सम्बोधनलाई दोहोर्याएर हेर्ने र आपत्तिजनक भएमा सो शब्दावलीलाई हटाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सभाध्यक्षको निर्देशन पछि काँग्रेस सांसद रायमाझीले सभाध्यक्षसँग समय मागेर बोल्दै काठमाडौं जान्छु भनेर हिँडेका एक जना माननीय तथा आफ्नै बन्धु हराएर देश बाहिर हो कि भित्र हो ? भनी आफूले चासो राखेको जिकिर गर्दै उनी आफ्नै सन्तान भएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले शुन्य समयमा बोल्दै सभाध्यक्ष मार्फत समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सभालार्ई जानकारी गराएका थिए । पत्रानुसार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको तथा सो महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सुरेन्द्रराज अर्याललाई नियुक्त गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !