२२ बैशाख २०८१, शनिबार

सरकारले भ्रष्टाचारबिरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा


विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइल मात्र नभएर फायर खोल्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा उनले भुटानी शरणार्थी प्रकरणमा खोलिएको फाइल निष्कर्षमा पुर्याउनुपर्ने बताए ।

उनले सरकारले भ्रष्टाचारकाबिरुद्ध फाइल मात्रै नभएर फायर खोल्दै निर्दोष कोही फस्नु नहुने र दोषी कोही बच्नु नहुने बताए । उनले नीतिगत सुधार गर्न सरकारले भ्रष्टाचार छानबिन गर्न कुनै पनि हदम्याद राख्न नहुने बताए ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताए । सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन ऐन र सरकारले ल्याएका नीतिमा विरोधाभास रहेको पनि शर्माले बताए ।

मुलुकलाई स्थिरतातर्फ लाने भन्दै गर्दा एउटै प्रधानमन्त्रीलाई ५ वर्षसम्म निरन्तरता दिन्छौं भन्न नसकेको स्वीकार गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्षी दलका सबैले यो संसदलाई पाँच वर्ष कायम गरेर जानेमा प्रतिबद्धता गर्नुपर्ने बताए ।

पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पुर्‍याउनुपर्ने पनि उनको आग्रह थियो । संसदको स्थिरताको जगमै मुलुकको समृद्धि खोजी गर्न सकिने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !