२२ बैशाख २०८१, शनिबार

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश : ढाकाकुमारको सांसद पद तत्काल नजाने


ढाकाकुमार श्रेष्ठ फाइल फोटो

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आज सोमबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले श्रेष्ठलाई निलम्बनसहित सांसद पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

रास्वपाले समानुपातिकतर्फबाट निर्वाचित सांसद श्रेष्ठलाई पदमुक्त गरेको सम्बन्धमा सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई पदमुक्त गर्नुको कारणबारे लिखित जवाफ दिन विपक्षीका नाममा आदेश जारी गरेको हो ।

सर्वोच्चले विपक्षीसँग ढाकामाथिको कारबाहीबारे कारण देखाउन आदेश दिँदै अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई बोलाउन पनि भनेको छ । दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ घुस प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाको पद गत वैशाख १२ गतेदेखि खाली भएको थियो ।

रास्वपाले गरेको परिपत्र अनुसार सभामुख देवराज घिमिरेले संसद बैठकमा श्रेष्ठको सांसद पद खाली भएको सूचना पढेर सुनाएका थिए । ढाकाको पद गएपछि रास्वपाबाट आदिवासी जनजाति क्लस्टरको सूचीमा दोस्रो नम्बरमा रहेकी विन्दबासिनी कंसाकार सांसद बनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !