२१ बैशाख २०८१, शुक्रबार

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत


सुरेन्द्रराज पाण्डे

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत पाएका छन् । आज अपराह्न बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।

गण्डकीका प्रदेशसभाको मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको पक्षमा ३५ मत परेको छ भने विपक्षमा २२ मत परेको छ । साथै २ जना सांसदहरु भने तटस्थ रहेका छन् ।

पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका छन् भने नेकपा एमालेका २२ सांसदले विपक्षमा मत हालेका छन् । तर राप्रपाका २ जना सांसद भने तटस्थ बसेका छन् ।

गत वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) सात र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उनी गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका थिए ।

हाल मुख्यमन्त्रीसहित दुई बिनाविभागीय मन्त्री मात्र रहेको मन्त्रिपरिषद्लाई अव विश्वासको मत लिएपछि पूर्णता दिने तयारीमा मुख्यमन्त्री पाण्डे रहेका छन् । नियुक्त भएको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !