२१ बैशाख २०८१, शुक्रबार

प्रचण्डले ओलीको जस्तै दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्छ : माधव नेपाल


माधव नेपाल

सुर्खेत । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको जस्तै दम्भ देखाए वर्तमान सत्ता गठबन्धन कुनै पनि बेला तोडिन सक्ने चेतावनी दिएका छन् ।

आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बेल्दै अध्यक्ष नेपालले गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताउँदै कर्णाली प्रदेशमा आफ्नो पार्टीलाई गठबन्धनले बेवास्ता गरेको आरोप लगाएका छन् ।

उनले कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने समेत चेतावनी समेत दिए । अध्यक्ष नेपालले गठबन्धनभित्र खासगरी नेकपा (माओवादी केन्द्र) को व्यवहारले आफ्नो पार्टी दुःखी भएको गुनासो गर्दै माओवादीले दिएको पीडायुक्त व्यवहारले आफू मर्माहित भएको बताएका हुन् ।

अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डमा एमाले अध्यक्ष ओलीको जस्तो घमण्ड बढ्दै गएको आरोप लगाएका हुन् । उनले आफ्नो पार्टी सबै कम्युनिस्ट पार्टीलाई मिलाउन चाहिरहेतापनि घमण्डी प्रवृत्तिले सो कुरामा बाधा पुग्ने उनले टिप्पणी गरे ।

उनले माओवादीको व्यवहारको आलोचना मात्र नभई निन्दा गर्न मन लाग्ने बताए । यस्तैयस्तै खालका प्रवृत्तिहरु हुर्किंदै जाँदा गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने आफ्नो अपेक्षा रहेको पनि बताए । समाज समृद्ध भए मात्र जनता खुसी हुने बताउँदै उनले आफ्नो पार्टी समृद्धिको अभियानमा रहेको बताए ।

भ्रष्टाचार, सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिइएको पनि उनले बताए । आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरेको बताउँदै नेपालले देश विकासका निमित्त आफ्नो कार्यकालमा महत्त्वपूर्ण काम भएको दाबी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !