१८ बैशाख २०८१, मंगलबार

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत


डिल्लीबहादुर चौधरी

दाङ । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । आज मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका हुन् ।

लुम्बिनीका प्रदेशसभाको मुख्यमन्त्री चौधरीले राखेको विश्वासको मतको पक्षमा ५३ मत परेको छ भने विपक्षमा २९ मत परेको छ । साथै ४ जना सांसदहरु भने तटस्थ रहेका छन् ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरीलाई नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) लगायतका ८ दलले विश्वासको मतको पक्षमा मत दिएका छन् ।

यस्तै एमालेले विपक्षमा मत दिएको हो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४ जना प्रदेशसभा सदस्य तटस्थ बसेका हुन् । प्रदेशसभामा रहेका आठ दलका ५३ जना सांसदको समर्थनमा वैशाख १४ गते चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेकपा (एमाले) नेतृत्वको सरकारका मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी मुख्यमन्त्री भएका थिए । चौधरीले आज विश्वासको मत लिएसंगै अव मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् ।

गठबन्धन दलमा मन्त्रालयको भागवण्डा नटुङ्गिएका कारण चार सदस्यीय मन्त्रिमण्डल गठन गरिएको छ । मुख्यमन्त्रीसँगै नियुक्त भएका तीन जना मन्त्री पनि बिना विभागीय हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !