९ जेष्ठ २०८१, बुधबार

भारतमा उपचाररत सांसद चन्द्र भण्डारी निको भएर आज स्वदेश फर्किंदै


डा. चन्द्रकान्त भण्डारी फाइल फोटो

काठमाडौँ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारी आज वैशाख १७ गते आइतबार स्वदेश फर्किंदै छन् ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा. भण्डारी आज आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेको डा. भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।

पछिल्लो समय डा. भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । नेपाल फर्केसँगै डा. भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् ।

आगलागीमा परी सांसद डा. भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा. भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !