२० बैशाख २०८१, बिहिबार

राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत भएकोले रोक्नुपर्छ : गगन थापा


गगन थापा फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत भएकोले रोक्नुपर्ने बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज साँझ लेख्दै महामन्त्री थापाले राज्यकोषमा स्रोतको व्यापक दबाब परेको वर्तमान समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत भएको भन्दै विरोध गरेका हुन् ।

उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न नभई पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित हुनुपर्ने पनि बताएका छन् ।

सरकारले अयोग्य घोषित माओवादी लडाकुलाई २ लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । युनाइटेड मिसन इन नेपाल (अनमिन) ले शान्ति प्रक्रियाका क्रममा ४ हजार ८ जना माओवादी लडाकुलाई अयोग्य घोषित गरेको थियो ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी ‘अयोग्य लडाकु’हरूलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालयले अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने गरी ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ तयार गरी जारी गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा शान्ति प्रक्रियाका बाँकी कामका लागि एक अर्ब ४० लाख रुपैयाँ विनियोजन गरेको बजेटबाट लडाकुहरुलाई राहत वितरण हुन लागेको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले अयोग्य लडाकुलाई राहत वितरण गर्न लागेको भन्दै राजनीतिक दलका नेता र सरोकारवालाहरुले विरोध गरेका छन् । आज बिहीबारमात्रै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अयोग्य लडाकुहरुलाई राहतको सट्टा रोजगारीको प्रबन्ध गर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ,रोक्नुपर्छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुङ्ग्याउन केन्द्रित होस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !