४ जेष्ठ २०८१, शुक्रबार

मेयर बालेनविरुद्ध परेको रिट कामु प्रधानन्यायाधीश कार्कीको इजलासमा


हरिकृष्ण कार्की

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेको छ । काठमाडौँ महानगरका प्रमुख शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर भएको रिटको पेशी आठौँ नम्बरमा रहेको छ ।

हिजो अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन हिजो दायर गरेका थिए ।

काठमाडौँ महानगरपालिकाले फोहर नउठाउने निर्णय गरेपछि फोहर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले तत्काल फोहर उठाउन अन्तरिम आदेश माग रिट निवेदनमा गरिएको छ । रिट निवेदनमा स्थानीय सरकार र सङ्घीय सरकारका बीचमा समन्वय हुनुपर्ने र मिलेर फोहर व्यवस्थापनको काम गर्नुपर्ने उल्लेख छ ।

फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्नको लागि आफ्नो क्षेत्रभित्र फोहर सङ्कलन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको भएकाले कानुन विपरित आजसम्म फोहर सङ्कलन नगरेकाले उक्त क्षेत्रको वातावरण प्रदूषित भई वातावरणमा असर पर्ने भएकाले तत्काल सङ्कलन गरी ल्याण्डफिल्ड साइडमा लानु र नियमित फोहर सङ्कलन र विसर्जन गर्ने कार्य गर्न गराउनु आदेश रिट निवेदनमा माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !