२० बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सदन तथा सरकारको ध्यानाकर्षण


प्रतिनिधिसभा बैठक

काठमााडौं । प्रतिनिधिसभाको आजको बैठकको शुरुमा सांसदहरुले आकस्मिक समयमा बोल्दै समसामयिक विषयमा सभामुख मार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आकस्मिक समयमा बोल्दै नेकपा(एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले हिजो बेलुका बैतडीमा भएको जिप दुर्घटनामा परि ६ जनाको मृत्यु हुुनुका साथै ५ जना घाईते भएको सदनलाई जानकारी गराउँदै मृतक परिवारलाई क्षतिपूर्तिको व्यवस्थाका लागि सभामुख मार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल सरकारले कर्णालीका निर्माण व्यवसायीहरुले पाउनु पर्ने रकम समयमै भुक्तानी नगर्दा त्यहाँका व्यवसायीहरुले झुण्डिनु पर्ने अवस्था आएको बताएका छन् ।

सरकारले पुँजीगत खर्च गर्नुपर्ने रकमलाई अहिले बैंकमा फिक्स डिपोजिट गरी व्याज खाइरहेको दावी गर्दै सांसद शाहीले नेपाल सरकार नै अहिले वास्तविक मिटर व्याजी बनिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा नयाँ नियमावलीले सांसदहरुले उठाएका प्रश्नहरुको ७ दिन भित्र जवाफ दिनु पर्ने व्यवस्था गरे पनि सरकारका मन्त्रीले अहिलेसम्म जवाफ नदिएको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराए ।

आकस्मिक समयमा नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले नेपाल सरकार, मन्त्रिपरषदले स्मार्ट टेलिकमलाई २८–३० अर्ब रुपियाँ छुट सहित लाईसेन्स नवीकरण गर्ने गरि निर्णय गर्न लागेको बिषयमा संचार माध्यमहरुमा समाचार आएको भन्दै त्यस्तो नगर्न सभामुख मार्फत सरकारलाई चेतावनी दिएका छन् ।

प्रमुख सचेतक गिरीले स्मार्ट टेलिकमले ५ अर्ब बक्यौता रकम समेत अझै सरकारलाई नबुझाएको अवस्थामा थप नविकरण गर्दा लाग्ने दस्तुर करिब २३ अर्ब रुपियाँ समेत छुट गर्नका लागि अहिले सम्बद्ध पक्षहरु मन्त्री क्वार्टरहरु धाइरहेको पनि दावी गरे ।

नेकपा(एमाले)का सांसद मानवीर राईले पूर्व गोर्खा सैनिकहरुले असमान सेवा सुविधाको बिषयलाई लिएर अहिले बेलायतमा मुद्दा हालिरहेको बताउँदै समस्या समाधानका लागि सरकारले पहलकदमी लिनुपर्ने बताए ।

सांसद राईले सोही बिषयलाई लिए पूर्व गोर्ख सैनिक र बेलायत सरकार बीच छिटै बार्ता हुन लागेको जानकारी दिंदै नेपाल सरकार परराष्ट्र मन्त्रालयले नेपाली गोर्खा सैनिकहरुको हक अधिकार प्राप्तिका लागि कुटनीतिक पहल गर्नु पर्छ कि पर्दैन ? भनी सभामुख मार्फत सरकारलाई प्रश्न गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !